११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

बाणगंगा मावि ठाकुरापुरमा खुल्ला भलिवल सुरु, गण्डकी र प्रदेश ५ का १३ टिम भीँड्दै



मायादेवी अनलाइन, कपिलवस्तु । 

बाणगंगा ४ ठाकुरापुरमा पुरुष खुल्ला भलिवल प्रतियोगिता सुरु भएको छ । स्थानीय नव प्रभात युवा क्लव (एनपिसिटी) को आयोजनामा बाणगंगा माविको प्राङगणमा भलिवल प्रतियोगिता सुरु भएको हो । विहिबार एक कार्यक्रमकाबीच सुरु भएको प्रतियोगिताको बाणगंगा नगरपालिकाका उप प्रमुख चक्रपाणी अर्यालले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै उप-प्रमुख अर्यालले स्थानीय क्लवले लगभग प्रदेश स्तरकै कार्यक्रम गरेकोमा बधाई दिँदै आफ्नो र नगरको साथ रहेको बताउनु भयो । पछिल्लो समयमा बाणगंगा नगरपालिका खेलकुदको हब नै बन्न लागेको बताउँदै यस्ता प्रतियोगिताले नगरका खेल प्रतिभाहरुलाई चिन्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो ।

अनुशाषित तवरले खेलकुद संचालन गर्न सकेको खण्डमा त्यसले समाज र राष्ट्रको परिचय अन्र्तराष्ट्रिय जगत्सम्म पुग्ने भएकाले दिनप्रतिदिन खेलप्रति मानिसहरुको आकर्षण रहेको बताउनु भयो ।

विशिष्ट अतिथि वडा नम्बर ४ का वडाध्यक्ष गणेश क्षेत्रीले आफ्नो वडामा स्याङ्जा, नवलपरासी र रुपन्देहीका खेलाडीहरुलाई भित्राउन सफल भएकोमा क्लवलाई धन्यबाद दिनुभयो । उहाँले यस्ता खेलकुदका कार्यक्रमले युवाहरुलाई समाज रुपान्तरणमा जोड्ने भएकाले हरेक क्षेत्रमा खेलकुदका गतिविधि गर्न आवश्यक रहेको बताउनुभयो ।

क्लवका अध्यक्ष मिलन चालिसेको अध्यक्षता, खेल संयोजक खेम पौडेलको स्वागत र उपाध्यक्ष पुरन चन्द्र मल्लको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतियोगितामा प्रदेश नम्बर ५ र गण्डकी प्रदेशका जिल्लाहरु स्याङ्जा, नवलपरासी, रुपन्देही, अर्घाखाँची, कपिलवस्तुका चर्चित १३ क्लवको सहभागिता छ । प्रतियोगिताको मैत्रीपूर्ण उद्घाटन खेलमा विहिबार शितगङ्गा नगरपालिकाले आयोजकलाई हराएको छ भने खास प्रतियोगिता शुक्रबारबाट सुरु हुने अध्यक्ष चालिसेले बताउनु भयो ।

प्रतियोगिताको विजेताले नगद ५० हजार, खसी, ट्रफी मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेता टोलीले ३५ ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । यस्तै तेश्रो र चौथो हुने टोलीले २० हजार र र ५ हजार पुरस्कार  प्राप्त गर्नेछन् । प्रतियोगिता २५ गतेसम्म संचालन हुने छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६ शुक्रबार ००:००  १२ : ०७ बजे