११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

सरकारी काम कहिले जाला घाम ! सुध्रिएन जिल्ला प्रशासन कपिलवस्तु



मायादेवी अनलाइन, तौलिहवा ।
देश संघीयतामा गएको छ । संघीयतामा देश गैसके पछि सरकारी कार्यालयबाट पाउने सेवा छिटो, छरिटो होला भन्ने नागरिकको अपेक्षा थियो । तर, जिल्ला प्रशासन कार्यालय तौलिहवामा यसो हुन सकेको छैन् । नागरिकले सहज सेवा होइन्, झन झन्झट व्यहोर्न वाध्य छन् ।
कपिलवस्तु वाणगंगाका भाद्र थापा प्रशासनको कामले दुई दिन प्रशासन धाए । पेन्सन सम्बन्धि कामका लागि थापा प्रशासन धाएका हुन् । उनलाई प्रशासनको अधिकृतको हस्ताक्षर मात्र चाहिएको थियो । तर, अधिकृतको हस्ताक्षरका लागि लगातार दुई दिन धाउनु पर्यो ।
यी त प्रतिनिधि पात्र मात्र हुन् । प्रशासनमा सेवा लिन आउने सेवाग्राहीलाई कर्मचारी अभावको कारण समस्या परेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार कार्यालयमा कर्मचारी कम छन् । झण्डै तीन महिना देखि सहायक प्रमुख जिल्ला अधिकारीको दरबन्दी रित्तो छ । ५ जना अधिकृत हुनु पर्नेमा तीन जना मात्र छन् भने १० जना सुब्बाको दरबन्दी भएपनि ३ जनाबाट काम चल्दै आएको छ । दिनहुँ कामको चाप हुने मुद्धा फाँटमा अधिकृत छैनन् । अहिले यो शाखा सुब्बाबाट सञ्चालन हुँदै आएको छ ।
नागरिकताको प्रतिलिपि फाँटमा कुनै कर्मचारी छैनन् । यो शाखामा अहिले सेवाग्राही नजादा पनि हुन्छ । पासपोर्ट शाखाको काम कम्प्युटर अपरेटरबाट सञ्चालन हुँदै आएको कर्मचारीहरु बताउँछन् ।
चाडपर्व पछि प्रशासनमा मुद्धाको लाम लाग्ने गरेको छ । दिनहुँ दर्जन बढी मुद्धा आउने गरेको कर्मचारी बताउँछन् । पासर्पोटका लागि पनि उत्तिकै मात्रामा सेवाग्राही आउने गरेका छन् । अमेरिकी भिसा चिट्टा डिभी भर्न यसबर्ष देखि पार्सर्पोट अनिवार्य भएपछि अझ सेवाग्राहीको चाप बढेको हो ।
कपिलवस्तुमा जिल्ला प्रशासन कार्यालयका अलवा दुई स्थानमा इलाका प्रशासन कार्यालय सञ्चालन हुँदै आएका छन् । चन्द्रौटा र वाणगंगामा इलाका प्रशासन कार्यालय सञ्चालनमा छन् । चन्द्रौटामा उप-सचिव कार्यालय प्रमुखको दरबन्दी र भने वाणगंगामा अधिकृत कार्यालय प्रमुखको दरबन्दी छ । जिल्लामा यी दुई कार्यालयबाट प्रशासनको काम हुँदै आएको छ । तरपनि जिल्ला प्रशासन कार्यालयको काम अझै प्रभावकारी हुन सकेको छैन् ।
सेवाग्राहीको संख्या विगतको भन्दा कम भएपनि सहज सेवा पाउन नसक्दा सेवाग्राही आक्रोस व्यक्त गर्छन् । तीन/तीन सरकारका लागि भोट दिएका नागरिकले सरकारी सेवा प्रवाह राम्रो नपाए पछि आक्रोश पोखेका हुन् ।
सहायक प्रमुख जिल्ला अधिकारी नहुँदा प्रमुख जिल्ला अधिकारीले काम चलाउँदै आएका छन् । यद्यपि प्रमुख जिल्ला अधिकारी अन्य विभिन्न काममा व्यक्त हुनु पर्दा झनै समस्या छ । सहायकबाट थुप्रै काम हुँदा प्रमुख जिल्ला अधिकारीबाट कार्यालय भित्रको काम खासै हेर्न नपर्ने भएपनि अहिले १० देखि ५ बजेसम्म कार्यालय भित्रै बस्नुपर्ने बाध्यता छ ।
प्रशासन कार्यालयका सुचना अधिकारी मनोजकुमार सैनीले कार्यालयमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या आएको बताउनुभयो । थोरै कर्मचारीले धेरै काम गर्नुपर्दा नागरिकको काममा ढिलाई भएको उहाँको भनाई छ । तरपनि थोरै कर्मचारीका बीचबाट नागरिकको काममा खटिएको उहाँको दाबी छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६ शुक्रबार ००:००  ८ : १६ बजे