११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

अनेरास्ववियूले भोली भारतीय दूतावास घेर्ने, यस्ता छन् आन्दोलनका थप कार्यक्रम



मायादेवी अनलाइन, कपिलवस्तु ।
भारतीय हस्तक्षेविरुद्ध अनेरास्ववियूले दोश्रो चरणको आन्दोलनको घोषणा गरेको छ । भारतको नयाँ राजनैतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटिएको विरोधमा चरणवद्ध आन्दोलनको घोषणा गरेको अनेरास्ववियूले दोश्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत कार्तिक २२ गते (भोली) विहान ११ बजे काठमाण्डौँको लैनचौरस्थित भारतीय दुतावास घेर्ने निर्णय गरेको हो ।

नेपालविरुद्ध सदैव हेपाहा प्रवृत्ति लाद्र्ने र हस्तक्षेप गर्ने भारतीय प्रवृतिको गम्भिर ध्यानाकर्षण गर्नको लागि पहिला दुतावास घेर्ने कार्यक्रम राखिएको अनेरास्ववियूका संयोजक ऐन महरले बताउनु भयो । यस्तै संघले कार्तिक २४ गते परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र २५ गते संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा ध्यानाकर्षण-पत्र बुझाउने कार्यक्रम तय गरिएको उहाँले बताउनु भयो ।

यति गर्दा पनि भारत नसच्चिएको खण्डमा लिपुलेकमै पुगेर नेपाली झण्डा फहराउने साथै भारतीय सरकारलाई ठाडो चुनौति दिने गरी थप आन्दोलनका कार्यक्रम सुरु गर्ने नेता नरेश रेग्मीले चेतावनी दिनुभयो । नक्सा नसच्याएसम्म आफूहरुको आन्दोलन जारी रहने पनि अनेरास्ववियूले जनाएको छ । कब्जाको शैलीमा भारतले नेपालमाथि हस्तक्षेप गरेको विद्यार्थी नेताहरुले जनाएका छन् । भारत सरकारको विरोधमा संघले आज पनि राजधानीमा प्रर्दशन गरेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६ बिहिबार ००:००  ६ : ४५ बजे