बागलुङ ।
प्रदेश सभा सदस्यको उपनिर्वाचनमा बागलुङमा राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाहीको मनोनयन दर्ता भएको छ । आगामी मंसिर १४ मा हुने बागलुङ क्षेत्र नम्बर २ को ’ख’ का लागि बामगठबन्धनबाट साझा उम्मेदवार राजमो जिल्ला सदस्य शाहीको मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गरिएको हो ।
नेपाल कम्युनिस्ट पार्टीको सरदमुकामस्थित पार्टी कार्यालयबाट बाजागाजासहितर्को र्यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरिएको राजमो जिल्ला अध्यक्ष अमर थापाले बताए ।
नेपाल कम्युनिस्ट पार्टीको जिल्ला र तल्लो तहका नेता, कार्यकर्ता एकल चुनावी मैदानमा जाने तयारीमा भए पनि केन्द्रीय तहबाट गठबन्धन बनाएर बागलुङमा राजमोलाई सघाउने निर्णय गरिएको थियो ।
कांग्रेसका तर्फबाट यसअघि पनि प्रत्यासी बनेका जित शेरचनलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रबाट प्रदेश सभा सदस्य बनेका राजमोका टेकबहादुर घर्तीको उपचारका क्रममा निधन भएपछि उपचुनाव हुन लागेको हो ।
यसअघिको चुनावमा पनि राजमो र तत्कालिन नेकपा एमाले, माओवादी केन्द्रको गठबन्धन बनेको थियो । यस क्षेत्रमा ३६ हजार ९ सय मतदाता उपचुनावमा सहभागी हुँदैछन् ।
प्रतिक्रिया