९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कविताः बादल पानी पार्नु है



नारायण खनाल ।
आकाशमा
कालो, सेतो र फुर्के बादल
दौडिरहेका छन्
ठ्याक्कै दौड प्रतियोगिता जस्तो !
प्यासले अत्तालिएका
धर्तीका सजीवहरू
पानीको आशामा छन
आकाश तर्फ फर्कंदै
कामना गरिरहेका छन
पानी परोस् भनेर
मेरो पनि यही अनुरोध छ
बादल पानी पार्नु है !

अहँ !
के आँटेर हो कुन्नि
बादल आफ्नै तालमा छ
उसलाई मतलव छैन
धर्तीका प्राणीको
त्यसैले त
असिना पारेर
गुँडमा बसेका
निमुखा चरीहरू
किट पतङ्गहरू
धरतीको बिछ्यौना बनाई
आकाश ओढेर
जीवन फुलाउने
सपना देखिरहेका
प्रकृतिका सन्तानको
टाउको फोर्न पनि सक्छ
भित्र्याउन लागेको वाली
झार्न पनि सक्छ
बादलले नचाहेमा
फगत आफ्नो नाच देखाएर
सबैलाई निराश बनाउन
सफल भएकोमा
फुरूङ्ग बन्दै
घर फर्कन पनि सक्छ
भन्छन् मान्छेहरू
सेतो र फुर्के बादलले
पानी पारे विघ्न पार्दैन
बरू प्राकृतिक मनोरमतालाई
सहयोग पुग्छ
धर्तीमा शितलता बढ्छ
प्राणीको प्यास मेटिन्छ
र त्यो गुन लाग्छ जुन पवित्र र
चोखो हुन्छ
त्यसकारण
सेतो र फुर्के बादललाई
मेरो अनुरोध छ
बादल तिमीहरू नै पानी पार्नु है

सुन्छु,
सेतो र फुर्के बादललाई
कालो बादलले चेपुवामा पार्छ
पानी पारे पनि
असिना झारे पनि
हुरी र बतास बोलाएर
तहसनहस पारे पनि
आखिर कालो बादल न हो
जो मडारिंदा
वस्ती बडारिन पनि सक्छ
पानी ओइराएर
पहिरो झार्न पनि सक्छ
बाढी बोलाएर
बगर बढाउन पनि सक्छ
चट्याङ बोलाएर
जीवन उजाड्न पनि सक्छ
प्यासले अत्तालिएर
आकाश तर्फ नै
मुख फर्काएकाहरूको
मुखमा पानीको साटो
विघ्न पारेर
मुखै च्यातिन पनि सक्छ
तर बादल मेरो बिन्ती छ
पानी नै पार्नु है

धर्तीमा प्राणीहरू
तिम्रो ताण्डव नृत्य सहेकैछन्
जति दिन्छौ, त्यति मै
चित्त बुझाएकै छन
जे गर्छौ चुपचाप
स्विकारेकै छन
दुख नै लागेपनि
मुटु नै चिरिए पनि
आँसु नै बगाँउछन
र फेरि
तिमीलाई नै जन्माउँछन
त्यसैले कालो बादल
यी निमुखाहरूको
अनुहार हेरेरै भए पनि
पानी नै पार्नु है !

प्रकाशित मिति : २१ कार्तिक २०७६ बिहिबार ००:००  ९ : २५ बजे