एजेन्सी ।
नौ अमेरिकीको मेक्सिकोमा हत्या भएको छ । तीन महिला र ६ जना बालबालिकाको गोली प्रहार गरी हत्या भएको हो । मेक्सिकोको उत्तरी क्षेत्रमा लागुऔषध तस्करको समूहले उनीहरुलाई गोली प्रहार गरेको आशंका गरिएको छ । पीडितहरु लिबारोन परिवारका सदस्य हुन् ।
उनीहरु दशकौँ पहिले मेक्सिकोमा बसोबास गर्न गएका ब्रेकअवे मोर्मोन समुदायका रहेको बताइएको छ । पीडितहरु मेक्सिकोको सो क्षेत्रमा गाडीमा गएका थिए, त्यहि बेला आक्रमण भएको हो । मेक्सिकोका रक्षा मन्त्रीले उनीहरुको पहिचानमा गल्ती भएकाले लागुऔषध तस्करले समूहले आक्रमण गरेको हुन सक्ने बताएका छन् । मेक्सिकोको उत्तरी क्षेत्रमा रहेको सोनोरा राज्यमा दुई ठूला लागुऔषध तस्कर समूहबिच लामो समयदेखि झडप तथा विवाद हुँदै आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मारिएकाहरु राम्रो परिवार र साथीहरुको समूह रहेको बताएका छन् । दुई तस्कर समूहको झडपको चपेटामा उनीहरु परको भन्दै ट्रम्पले दुःख व्यक्त गरेका छन् । तस्कर विरुद्धको अभियानका लागि अमेरिका तयारी अवस्थामा रहेको उनले बताएका छन् ।
अमेरिकी सञ्चार संस्था सिएनएनका अनुसार अमेरिकाको संघीय अनुसन्धान ब्युरो एफबिआई ले घटनाको छानबिनमा सहयोग गर्ने प्रस्ताव मेक्सिकोलाई गरेको छ ।
मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले आफ्नो देशले निष्पक्ष र सार्वभौम रुपमा घटनामा संलग्न अपराधी पत्ता लगाउने बताएका छन् ।
मारिनेमा ३० वर्षकी रोनिता मिलर र उनका चार सन्तान, जसमध्ये दुई शिशु थिए, उनीहरुको कारमा भएको पहिलो आक्रमणमा ज्यान गएको हो ।
अर्को कारमा एम्बुस आक्रमण गरी ४३ वर्षका दावना रे ल्याङ्गफोर्ड र ३१ वर्षकी क्रिष्टिना ल्याङ्गफोर्ड जोनसनको हत्या भएको हो । सो आक्रमणमा रे ल्याङ्गफोर्डका चार र ६ वर्षका दुई सन्तानको पनि हत्या भएको छ ।
सातजना बालबालिकाले भागेर ज्यान जोगाउन सफल भएका छन्। त्यसमध्ये पाँचजनालाई एरिजोनाको अस्पताल लगिएको छ ।
२० कार्तिक २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया