१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

गुल्मीमा एकै ठाउँमा भेटिएका ३ वटै शवको पहिचान हुन सकेन



गुल्मी ।
शनिबार गुल्मीमा एकै ठाउँमा भेटिएका ३ वटै शवको पहिचान हुन सकेको छैन । चन्द्रकोट गाउँपालिका ३ पोखरीको जंगलमा भेटिएका शवको अझै पहिचान नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी मिनबहादुर घलेले बताए ।
शवको टाउकोमा गम्भीर चोट छ । घटनास्थल नजिकै हम्मर (घन) भेटिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमपछि धेरै दिन गुल्मी अस्पतालमा राख्न समस्या भएपछि पाल्पा अस्पताल पठाइएको छ ।
प्रहरीले शव पहिचाहनको लागि मातहतका प्रहरी चौकी र छिमेकी जिल्लाहरुमा खबर गरेको छ । तर, अहिलेसम्म कोही सम्पर्कमा आएका छैनन् । शवको पहिचानका साथै घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए । पोष्टमार्टम रिपोर्ट आएपछि केही कुरा खुल्ने सक्ने उनले बताए ।
तीन वटा शव मध्ये एउटा २८-२९ वर्षे महिला र २ वटा ८ देखि १० वर्षका बालिकाको रहेको प्रहरीले बताएको छ ।
कच्ची सडकभन्दा ४ मिटर टाढा महिलाको शव भेटिएको थियो भने एक एक मिटर टाढा दुई बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ । उनीहरु मंगोलियन अनुहारका छन् ।
शव फेला परेको स्थान जिल्ला सदरमुकाम तम्घासबाट करिब ५ घण्टापछि मात्रै पुग्न सकिन्छ । घटना भएको स्थान बाग्लुङ जिल्ला नजिक पर्छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६ सोमबार ००:००  १ : २९ बजे