१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

पुरानो फोटो इन्स्टाग्राममा सेयर गर्दा पेरीविरुद्ध मुद्दा



क्यालिफोर्निया ।
तीन वर्ष पुरानो एक फोटो सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरेको विषय हलिउड गायिका केटी पेरीलाई टाउको दुखाइ बनेको छ । सन् २०१६ मा भएको एक पार्टीमा पेरी आफ्नो श्रीमान्का साथ बिल र हिलारी क्लिन्टनको ड्रेसअपमा पुगेकी थिइन् । यही फोटो सामाजिक सञ्जालमा सेयर गरेकोमा कपीराइट उल्लंघन गरिएको भन्दै डेढ लाख डलर अर्थात् डेढ करोड रुपैयाँभन्दा बढीको माग दाबी गर्दै मुद्दा दायर गरिएको छ ।

सेलेब्रिटी न्युज एजेन्सीका बेकग्रिडले अमेरिकन डिस्ट्रिक्ट कोर्ट क्यालिफोर्नियामा मुद्दा दायर गरेका हुन् । उनले अनुमति बिना तस्बिर प्रयोग गरी अमेरिकाको संघीय कानुनको उल्लंघन गरेको आरोप लगाएका छन् । संगीतकार र गीतकारसमेत रहेकी गायिका पेरीको इन्स्टाग्राममा ८६ मिलियनभन्दा बढी फलोअर्स छन् ।

सन् २००७ मा पेरीको ‘योर सो गे’ गीत इन्टरनेटमा हिट भएको थियो । उनले सन् २००८ मा एकल गीत ‘आई किस्ड अ गर्ल’ ल्याएकी थिइन् ।

स्मरण रहोस्, हलिउड सुपरमोडल एमिली रतजकोव्सलाई पनि सामाजिक सञ्जालमा तस्बिर सेयर गरेकोमा कपिराइट उल्लंग्घन गरेको भन्दै हालै एक फोटोग्राफरले मुद्दा हालेका थिए । उनले पनि डेढ करोड रुपैयाँभन्दा बढीको माग दाबी गरेका छन् । -एजेन्सी

प्रकाशित मिति : १८ कार्तिक २०७६ सोमबार ००:००  ८ : ५६ बजे