मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका र चिनको छिचौँ नगर जनसरकारबीच हस्ताक्षर भएको छ । दुई नगर बीच भगिनी सम्बन्ध कायम गर्ने उद्धेश्यले चार बुँदे समझदारी पत्रमा आइतबार अपराह्न हस्ताक्षर भएको हो ।
वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारु र छिचौँ नगर जनसरकारका उप-प्रमुख फु चिन क्वाङले समझदारी पत्रमा हस्ताक्षर गरेपछि दुई नगर बीच भगिनी सम्बन्ध औपचारिक रुपमा अगाडी बढेको हो ।
हस्ताक्षर भएको समझदारी पत्रमा समता र पारस्परिक हितका लागि दुवै पक्षले सहकार्य गर्ने, दुवै पक्षबीच शिक्षा, स्वास्थ्य, व्यापार, विज्ञान प्रविधि, पर्यटन र आधुनिक कृषिको क्षेत्रमा सहयोग आदानप्रदान गर्ने, दुवै पक्षका सरोकारका विषयलाई नियमित सम्पर्क समन्वय मार्फत सहकार्य बढाउने, दुवै नगरले भगिनी शहरको सम्बन्धलाई स्थापित गर्न पर्याप्त भूमिका खेल्ने लगायतका छन् ।
विगत तीन बर्ष देखि वाणगंगाले छिचौँसंग भगिनी सम्बन्धका लागि पहल गर्दै आएपनि आज आएर यसले औपचारिकता पाएको हो । शनिबार चिनको छिचौँबाट भगिनी सम्बन्धका लागि नगर जनसरकारका उप प्रमुख क्वाङ, महासचिव उ किङ्ग्वा सहितको ५ सदस्यिय टोली वाणगंगा आएको थियो ।
भगिनी सम्बन्धका लागि समझदारी पत्रमा हस्ताक्षर पछि बोल्दै वाणगंगा नगरपालिकाका नगर प्रमुख थारुले छिमेकी मित्र राष्ट्र चिनको छिचौँ नगरपालिकासंग भएको सम्झौता ऐतिहासिक भएको बताउनुभयो । यसले दुई नगरबीच मित्रता बढ्ने विश्वास गर्दै यो सम्झौतालाई दिगो बनाउनुपर्नेमा जोड दिनुभयो । वाणगंगाको शिक्षा, स्वास्थ्य र भौतिक विकासमा भगिनी सम्बन्धले महत्वपूर्ण भूमिका खेल्ने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।
छिचौँ नगर जनसरकारका उप प्रमुख क्वाङले आइतबार भएको सम्झौताले दुरगामी महत्व राख्ने बताउनुभयो । नेपाल असल मित्र भएको भन्दै अक्टुरमा आफ्ना देशका राष्ट्रपतिको नेपाल भ्रमणले झन मित्रता प्रगाढ बनाएको बताउनुभयो । छिचौँ र वाणगंगाका कला, संस्कृतीको आदानप्रदान गरी भगिनी सम्बन्धलाई थप मजबुत बनाउँदै लग्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । बुद्धको भूमि कपिलवस्तु आउन पाउँदा खुसी लागेको भन्दै लुम्बिनीलाई माया गरे जत्तिकै वाणगंगाबासीले छिचौँलाई पनि माया गर्नेमा आफु आशाबादी रहेको बताउनुभयो । भगिनी सम्बन्धले दुई देशका दुई नगर एक परिवार भएको आफुले महशुस गरेको सुनाउनुभयो । नगर भित्रका ऐतिहासिक तथा धार्मिक स्थलहरुमा आफुले गरेको भ्रमणमा नगरवासीको न्यायो माया र सत्कार पाएका बताउनुभयो ।
हस्ताक्षर कार्यक्रममा विभिन्न जातजातीका झाँकी तथा नृत्य देखाइएको थियो भने वाणगंगा नगरपालिका र छिचौँ नगरपालिकाको भिडियो डकुमेन्ट्री पनि प्रस्तुत गरिएको थियो । वाणगंगा नगरपालिकाका उप-प्रमुख चक्रपाणी अर्यालले छिचौँका नगर उप-प्रमुख क्वाङ, महासचिव किङ्ग्वा लगायतलाई नेपाली ढाका टोपि लगाई दिनुभएको थियो भने दुई नगरबीच एक अर्कालाई मायाको चिनो हस्तान्तरण गरिएको थियो । कार्यक्रम नगरपालिकाका बैदेशिक समन्वय समितीका संयोजक गुणनिधि भुसालको सहजीकरण र नगर भित्रका विभिन्न स्थलको भ्रमण कार्यक्रम सम्पन्न भएको थियो ।
यसैगरी समझदारी पत्रमा हस्ताक्षर गर्नु पूर्व वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारु, उप-प्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, बैदेशिक समन्वय समितिका संयोजक गुणनिधी भुसाल, वडाध्यक्षहरुको उपस्थितीमा भेटवार्ता भएको थियो ।
यसैबीच छिचौँ प्रान्तका उप प्रमुख क्वाङ, महासचिव उ किङ्ग्वा लगायतले टोलीलाई विहान पर्यटकीय स्थल घुमाइएको थियो । नगरपालिकाका नन्दनगर कैलाश आश्रम गुरुकुल, कपिलधाम, लक्ष्मणघाट, कपिलवस्तु नगरपालिकाको जगदीशपुर ताल र तिलौराकोटमा टोलीलाई घुमाइएको हो ।
१७ कार्तिक २०७६ आइतबार ००:००
4
Shares
प्रतिक्रिया