१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सबैको साझा बन्दै छठ पर्व



मायादेवी अनलाइन, तौलिहवा ।
तराईका जिल्लाहरुमा धुमधामका मनाईने छठ अहिले देशैभर जनजाति, दलित, मुस्लिम, मधेसी समुदायले समेत धुमधामले मनाउन थालेका छन् । अहिले छठ जिल्लामा एकता र सद्भावको पर्व बन्दै मैथिली, पहाडी र अवधी समुदायलाई पर्वले जोडेको छ ।
केही बर्ष अघिसम्म पूर्वी तराईका केही जिल्लाहरुमा सीमति छठ पर्व अहिले समाबेशी बन्दै गएको छ । बिशेष गरि पूर्वका मधेसी समुदायमा मात्र सिमित छठ पडाडी, नेवार, मधेसी, दलित मुस्लिम, जनजाति लगायतमा समेत लोकप्रिय बन्दै गएको छ । आराध्यदेव सूर्यको आराधना र उपासना गरि मनाईने छठ पर्व बिहीवारबाट सुरु भई आईतवार सम्पन्न हुँदैछ ।
कपिलवस्तु नगरपालिका १ की नेवार समुदायकी महाश्येता शाक्यले पाच बर्ष अघिदेखि छव पर्व मनाउदै आएको बताईन । माईती घरमा छठ पर्वको बारेमा सुनेपनि पर्व मनाउने तर्फ कुनै चासो नदिएकी उनले मधेसी, पहाडीहरुसँगै एकैसाथ छठको पर्व मनाउँदा निकै रमाईलो लाग्ने गरेको बताईन् । बिभिन्न जात जातीहरुले एकैसाथ पर्व मनाउदा सांस्कृतिक आदानप्रदान समेत हुने उनी बताउँछिन्।
कपिलवस्तु नगरपालिका– २ की कुन्ती पासीले जमुहार नदीमा सबैसँग सामुहिक पुजा गरिन् । यो पर्व तराईमा बस्ने नेपालीहरुले विगत लामो समयदेखि उत्साह र उमंगका साथ मनाउँदै आएको पाइन्छ भने पहाड र उपत्यकामा पनि विस्तारै उत्साहका साथ मनाउने गरेको पाइन्छ ।
छठ पर्वमा नदी वा पोखरी किनारमा भक्तजनहरु जम्मा भई अस्ताउँदो सूर्यलाई पूजा गरी मनाउँदछन् भने पछिल्लो दिन उदाउँदो सूर्यलाई पुजा गरेर मनाउने गरिन्छ । परिवारको ज्येष्ठ योग्य र स्वस्थ महिलाको नेतृत्वमा मनाइने सामूहिक पर्व छठ पर्व हो ।
यस समयमा छठ व्रत बसी सूर्यदेव र छठी माताको पूजाअर्चना गर्नाले आफ्नो मनोकामना पुरा हुने धार्मिक विश्वास पाइन्छ । सबै धर्म समुदाय र जाति एकै ठाउँमा भेला भएर छठ पर्व मनाइने हुँदा यो पर्वको एउटा छुट्टै विशेष पहिचान पाउन सकिन्छ ।
छठ पर्वमा सूर्यको पूजा गरिन्छ । सूर्यले पृथ्वीमा रहेका सम्पूर्ण जीव र वनस्पतिहरुलाई ताप दिने गर्दछ । यसको ताप वा किरणले विभिन्न रोगका कीटाणुहरुलाई नष्ट गर्ने गर्दछ । हिन्दु धर्ममा पनि सूर्यलाई ब्रह्मा, विष्णु र महेश्वरको शक्तिको रुपमा उल्लेख गरिएको छ । यद्यपि संसारका विभिन्न समुदायहरुले सूर्यको पूजा आ–आफ्नै तरिकाबाट पनि गरेको पाइन्छ ।
कपिलवस्तुका विभिन्न नदि तथा तालहरुको किनारमा गएर शनिवार साँझ अस्ताउदो सूर्यलाई अर्घ दिएर पुजा गरेर यो पर्व मनाइएको छ । जिल्लाको सदमुकाम तौलिहवाको रमघाट, जमुवार नदि, वाणगंगा नदिका विभिन्न भाग तथा महाराजगञ्ज पकडी लगायतका क्षेत्रमा यो पर्व मनाइएको छ ।
कपिलवस्तु नगरपालिकाकी उप प्रमुख लक्ष्मी गुप्ताले वाणगंगा नदिको रामघाट नदीमा गएर पुजा गर्दै सबै समुदायमा यस पर्वले आपसी समझदारी र भाइचाराको सम्वन्ध विस्तार गरेको बताइन् । पुजास्थलमा स्थानीय नेता, विभिन्न संघ संस्थाका प्रतिनिधी लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०७६ शनिबार ००:००  ७ : ०४ बजे