१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अस्पतालमा राजनीति गन्ध मिसाउन हुन्नः सांसद कमाल



बाबुराम रायमाझी, जितपुर ।
प्रतिनिधिसभा सदस्य अतहर कमालले अस्पतालबाट सेवा दिदा सामाजिक भावले दिनुपर्नेमा जोड दिनुभएको छ । अस्पताल विशुद्ध सामाजिक संस्था भएकोले यसमा राजनीति गन्ध दिन नहुने सांसद कमालले बताउनुभयो । कपिलवस्तु सामुदायिक अस्पतालको दोस्रो बार्षिक साधारणसभामा शनिबार बोल्दै उहाँले यस्तो कुरामा जोड दिनुभएको हो ।

अस्पतालमा सामाजिक एकता भन्दा ठूलो विषय अरु हुन नसक्ने बताउनुभयो । साथै स्थानीय स्तरमा सञ्चालनमा आएका अस्पतालमा विशेषज्ञ सहितको सेवा दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रदेशसभा सदस्य विष्णु पन्थीले कपिलवस्तु सामुदायिक अस्पतालको स्तरउन्नतीमा आफुले सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । जिल्लाको मुख्य भागमा रहेको यस अस्पतालमा आफुले प्रदेश सरकारबाट आवश्यक बजेट ल्याएको बताउँदै अझै सक्दो सहयोग गर्ने बताउनुभयो । फरक प्रसंगमा बोल्दै उहाँले उत्कृष्टको हिसाबमा वाणगंगा प्रदेशमै दोस्रो भएको भन्दै खुसी व्यक्त गर्नुभयो । नगरको समग्र बिकास निर्माणको बारेमा चर्चा गर्दै सुन्दर नगरी भित्र रहेको बिभिन्न धार्मिक, ऐतिहासिक, पर्यटकीय स्थललाई प्रदेश सरकारले सम्वोधन गरेको बताउनुभयो ।

कार्यक्रममा संविधान सभा सदस्य तथा पूर्व लेखा समितिका संयोजक डोर प्रसाद उपाध्यायले कपिलवस्तु सामुदायिक अस्पताललाई अगामी दिनमा मडिकल कलेजको रुपमा लैजानुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका नेता हरिराज घिमिरे, नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेल लगायतले दोस्रो बार्षिक साधारण सभामा सफलताको शुभ कामना दिनुभएको थियो ।

बाणगंगा नगरपालिका ४ को बुङ्चीमा भएको साधारणसभामा संस्थाका अध्यक्ष रामजी सेनले संस्थाको संक्षिप्त चिनारीको बारेमा बताउनुभएको थियो । संस्थाका महासचिव पोमनारायण पौडेलले संस्थाको बार्षिक प्रगती प्रतिवेदन पेश गर्नुभएको थियो भने कोषाध्यक्ष रबि बहादुर काफ्लेले आर्थिक वर्ष ०७५÷०७६ को कुल ३ करोड ३ लाख बराबरको आय—ब्यय सार्वजनकीकरण गर्नुभएको थियो ।

सामुदायिक अस्पताल निर्माणमा ५० हजार भन्दा बढी सहयोग पुर्याउने चन्दादातालाई कार्यक्रममा सम्मानित गरिएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०७६ शनिबार ००:००  ७ : ०० बजे