१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

पिएसजीको तेस्रो हार



एजेन्सी ।

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सिजनको तेस्रो हारको सामना गरेको छ । शुक्रबार राति भएको खेलमा पिएसजीले रेलिगेशन जोनमा रहेको डिजोनसँग २–१ गोलको हार ब्यहोरेको छ । आफ्नो प्रभावशाली प्रदर्शन गर्दे आएको पिएसजी ६ जितपछि पहिलो हारको सामना गर्न बाध्य भयो । पिएसजीले पछिल्ला चार खेलमा १७ गोल गरेको थियो ।

गत वर्षको लिग उपाधि जित्दा पिएसजीले प्रतियोगिताभरी जम्मा पाँच खेलमा हार ब्यहोरेको थियो । तर, नयाँ सिजनको शुरुवाती १२ खेलमा पिएसजीले तीन हार ब्यहोरिसकेको छ। हारका बाबजुत पिएसजी १२ खेलबाट २७ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । उसले दोस्रो स्थानको नान्ट्ससँग आठ अंकको अग्रता कायमै छ । खेलको १९ औं मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै पिएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए । सिजनका चार खेलमा एम्बाप्पेको यो सातौं गोल हो ।

पहिलो हाफको इन्जुरी समयमा मौनिर चौयरले गोल गर्दै डिजोनले खेल बराबरीमा ल्यायो। दोस्रो हाफको तेस्रो मिनेटमा जोन्डर काडिजले डिजोनका लागि विजयी गोल गर्दा पिएसजी अप्रत्यासित पराजय भोग्न बाध्य भयो । मौरो इकार्डी र एडिसन काभानीको प्रहार सफल नहुँदा पिएसजी सम्भावित बराबरीबाट समेत विमुख हुन पुगेको थियो । तालिकाको पुछारमा रहेको डिजोनले जित निकाल्दै दुई स्थान सुधार गरेको छ । लिग वानमा डिजोन १८ औं स्थानमा रहन सफल भयो ।

प्रकाशित मिति : १६ कार्तिक २०७६ शनिबार ००:००  ८ : ३० बजे