१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कांग्रेस बैठकः उप निर्वाचनको उम्मेद्वार छान्ने जिम्मा पदाधिकारीलाई



काठमाडौं ।

नेपाली कांग्रेसले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनको लागि उम्मेदवार चयन गर्ने अधिकार पदाधिकारीलाई दिएको छ ।

पार्टी केन्द्रीय कार्यसमितिको शुक्रबार दिउँसो बसेको बैठकले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको उम्मेदवारको चयन गर्ने अधिकार पदाधिकारीलाई दिने निर्णय गरेको हो ।

पार्टीको विधानमा भने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उमेदवारको चयन गर्ने अधिकार संसदीय समितिलाई दिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार र शुक्रबार बिहान बसेको पार्टी पदाधिकारी र वरिष्ठ नेताहरूको अनौपचारिक बैठकले स्थानीय, प्रदेश र संघीय संसदका सदस्यको उमेदवारको चयन पदाधिकारीबाटै गर्ने गरी केन्द्रीय कार्यसमितिबाट निर्णय गराउने सहमति भएको थियो ।

बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्य, दाङ ३ को ‘२’, बागलुङ निर्वाचन क्षेत्र २ को ‘२’ र भक्तपुर १ को ‘१’ मा प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रदेश सभासदको उम्मेदवार चयन गर्न पार्टी विधानको दफा २७ बमोजिम पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको हो ।

पार्टी महामन्त्री डा. शशांक कोइरालाले प्रस्तुत गरेको प्रस्ताव बमोजिम प्रतिनिधिसभा र प्रदेश सभासदको उम्मेदवार चयन गर्ने, घोषणा गर्ने र उम्मेदवारी दाखिला गर्ने व्यवस्था गर्ने निर्णय समेत पदाधिकारीलाई दिएको छ ।

बैठकले धरान उपमहानगरपालिकाको प्रमुखका लागि उपमहानगर कार्यसमिति र सुनसरी १ नम्वर क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिबाट सर्वसम्मत रूपमा सिफारिस गरिएका तिलक राईको नामलाई अनुमोदन गर्ने भएको छ ।

अन्य स्थानीय तहका नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्षका उम्मेदवारको चयन कसले गर्ने भन्ने विषयमा कांग्रेसले कुनै निर्णय गरेको छैन ।

वडाको अन्तिम अन्तिम निर्णय गर्ने अधिकार क्षेत्रीय कार्यसमितिलाई र गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको चयन गर्ने अधिकार जिल्ला कार्यसमितिमा छ ।

शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, एनपी साउद र महेन्द्र यादवले बोलेका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७६ शुक्रबार ००:००  ७ : १२ बजे