१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कैलालीमा बसको ठक्करबाट घाइते दुई बालकको मृत्यु



धनगढी ।
कैलालीको बर्दगोरीयामा बसको ठक्करबाट घाइते भएका दुईजना बालकको उपचारका क्रममा मृत्यु भएको छ । विहिबार साँझ ५ बजेतिर महेन्द्रनगर बाट काठमाडौँ गइरहेको महाकाली यातायातको ना७ख ६०४६ नम्बरको बसले बर्दगोरीया गाउँपालिका-१ साझा चौक नजिक साइकलमा सवार दुईजना बालकलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका बर्दगोरीया गाउँपालिका-१ का ८ वर्षीय अंशु चौधरी र घोडाघोडी नगरपालिका ८ का १२ वर्षीय लक्ष्मण चौधरीको उपचारको क्रममा मृत्यु भएको हो। घाइते अंशु र लक्ष्मणलाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको थियो। घाइते लक्ष्मण चौधरीको नेपालगन्जस्थित नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको र अर्का घाइते अंशुको भारतको लखनउमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। बस र चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको उनले बताए। मृतक बालकद्वयका आफन्तले पूर्वपश्चिम राजमार्गको बौनियाँ सडकखण्ड अवरुद्ध पारेका छन्। उनीहरुले सडक अवरुद्ध पारेपछि सवारीका साधन सञ्चालन ठप्प भएको छ। इलाका प्रहरी कार्यालय बौनियाँका इञ्चार्ज ध्रुव विष्टले मृतकद्वयका आफन्त विरोधमा उत्रिएको जानकारी दिए।

प्रकाशित मिति : १५ कार्तिक २०७६ शुक्रबार ००:००  १ : ३० बजे