१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कृष्णनगरमा प्रहरीद्धारा लक्ष्मीको मुर्ति विर्सजन, कर्फ्यू जारी



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको कृष्णनगरमा लक्ष्मी माताको मुर्ति सुरक्षा समितिको बैठक बसी राती नै प्रहरी लगाएर विर्सजन गरिएको छ । रातीनै मूर्ती विर्सजन गरिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ । अनिश्चितकालिन निषेधाज्ञा आज पनि जारी रहेको छ ।
लक्ष्मी पूजाको मूर्ति बिसर्जनका क्रममा भएको विवादले उग्र रुप लिदा प्रहरीले गोली चलाउँदा २० वर्षीय सुरज कुमार पाण्डेको मृत्यु भएको छ । शव पोस्टमार्टमका लागि तौलिहवा अस्पातालमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दीप शम्सेर जबराले जानकारी दिए ।
लक्ष्मीपूजाको मूर्ति बिसर्जनका क्रममा सुरु भएको दुईपक्षको विवाद हिंसाको तहसम्म पुगेपछि जिल्ला प्रशासन कार्यालयले विहीबार विहान ११ बजे देखि कर्फ्यू लगाएको हो। कर्फ्यू कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि लगाइएको जिल्ला प्रशासन कार्यालय कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताए ।
प्रशासनले कर्फ्यूको अवज्ञा गरेमा कानुन वमोजिम कारवाही गर्ने चेतावनी दिएको छ । कृष्णनगर क्षेत्रमा लक्ष्मी माताको मूर्ति विसर्जन गर्न लैजाँदै गर्दा स्थानीय दुई समूहबीच बुधबार साँझदेखि झडप शुरुभएको थियो ।
बुधबार बेलुकी लक्ष्मीको मूर्ति विर्सजन गर्ने क्रममा झडप हुँदा १० जनाभन्दा बढी घाइते भएका छन्। तनाव बढेपछि प्रहरीले ५० राउण्डभन्दा बढी अश्रुँग्यास प्रहार गरेको थियो ।
प्रदर्शनमा उत्रिएका युवाहरुले टफिक प्रहरी पोष्टमा आगजनी गरेका छन्। प्रदर्शनकारी युवाहरुले प्रहरी माथि ढुंगा मुढा, सीसा तथा बोतल प्रहार गरेका छन् । झडपमा परी करिब आधा दर्जन युवाहरु घाईते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बुधवार राती नै दर्जनौं राउण्ड अश्रु ग्यांस प्रहार गरेको थियो ।
घटनालाई साम्य पार्न प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, नेपाल प्रहरीका प्रमुख दीपशमशेर जबरा, शशस्त्र प्रहरी प्रमुख जनक पुरी लगायतको टोली दिनभर जसो प्रयासरत भए पनि प्रदर्शनकारीसंग वार्ता र संवाद अघि बढ्न सकेको थिएन । गोली लागि एक युवकको मृत्यु भए पछि घटना थप संवेदशीनल बन्दै गएको छ ।
थप हिंसा भड्कन नदिन नेपाल प्रहरी र शशस्त्र प्रहरीको ठुलो टोली घटना स्थलमा परिचालन भएको छ । स्थानीय प्रशासनले कृष्णनगर भंसार नाका र आसपासका नाकाहरु अनिश्किालीन रुपमा वन्द गरेको छ । नेपाल तथा भारत तर्फ आवागमनलाई पूर्ण रोक लगाईएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६ शुक्रबार ००:००  ९ : ३४ बजे