१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

पाकिस्तानी रेलमा आगलागीः ज्यान गुमाउनेको संख्या ७३ पुग्यो



एजेन्सी ।
पाकिस्तानको रहिम यार खानमा रेलमा भएको आगलागीमा परि ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ ।
रेलभित्र खाना पकाउने ग्यासको सिलिण्डर पड्केर बिहीबार आगलागी भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । घटनामा परि ४० जनाभन्दा बढी घाइते भएका छन् ।
पाकिस्तानको कराँची शहरबाट रावलपिण्डीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको यात्रुवाहक रेलको तीन वटा डिब्बामा आगलागी भएको हो । कतिपयको आगोले जलेर रेलभित्रै मृत्यु भएको हो भने कतिपयको जलिरहेको रेलबाट हाम फाल्दा ज्यान गएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।
घाइते भएकाहरूको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या अरु बढ्न सक्ने आशङ्का पनि गरिएको छ ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले घाइतेहरूलाई पर्याप्त उपचारको व्यवस्था गर्न निर्देशन दिनुभएको छ । साथै घटनाका बारेमा छानबिनको प्रक्रिया पनि सरकारी अधिकारीहरुले सुरु गरिसकेका छन् ।
पाकिस्तानका रेल मन्त्री शेख रसिद मृतकका परिवारलाई राहतस्वरुप सरकारले १५ लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिनु भएको छ । त्यस्तै घाइतेलाई ५ लाख रुपैयाँ उपलब्ध गराउने पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १५ कार्तिक २०७६ शुक्रबार ००:००  ६ : ३६ बजे