७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

सन्दीप बने धेरै देशमा गएर टी-२० खेल्ने क्रिकेटर



काठमाण्डौ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एक वर्षको अवधिमा सर्वाधिक देशमा गएर टी-२० क्रिकेट खेल्ने क्रिकेटर बनेका छन् ।
सन् २०१८ को अक्टोबरदेखि २०१९ को सेप्टेम्बरसम्मको अवधिका आधारमा ‘द क्रिकेट मन्थ्ली’ नामक अन्तर्राष्ट्रिय म्यागेजिनले गरेको सर्वेक्षणमा सन्दीपले ८ देशमा गएर टी-२० खेलेर रेकर्ड बनाएका हुन् ।

उनीसँगै आठ देशमा गएर क्रिकेट खेल्ने रेकर्ड अफगानिस्तानका नजिवुल्लाह जाड्रनको पनि रहेको छ । सर्वेक्षणमा सन्दीप र जाड्रन संयुक्त शीर्ष स्थानमा रहेका छन् ।
सन्दीपले आईपीएल, बिग बास, सीपीएल, बीपीएल र पीएसएल खेलेका छन् । यो बीचमा उनले नेपालका लागि तीन ओटा एक दिवसीय र ११ ओटा टी-२० पनि खेल्न भ्याएका छन् ।
सन्दीप लेग स्पिनर बलर हुन् । उनको माग विश्वका सबैजसो ठूलो फ्रेन्चाइज लिगमा हुने गर्छ । यसैका आधारमा उनी विश्वका हरेक लिगमा जाने गरेका छन् ।
सन्दीप एक वर्षको अवधिमा सर्वाधिक बलिङ गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । सर्वाधिक बलिङ गर्ने खेलाडीको सूचीमा अफगानिस्तानका राशिद खान छन् । उनले एक वर्षमा एक हजार तीन सय ५५ पटक बल बलिङ गर्दा सन्दीपले नौ सय ८५ पटक बल बलिङ गर्दै दोस्रो स्थानमा परेका हुन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७६ बिहिबार ००:००  ३ : ४८ बजे