मायादेवी अनलाइन, कपिलवस्तु ।
विश्व सीमसार क्षेत्र जगदीशपुर ताल पाहुना चराले भरिन थालेको छ । अहिले यहाँ हिउँदे प्रजातिका रुख सुडसुडिया, चिमचिमे र जल रंक चराचुरुंगी आएका छन् ।
असोज अन्तिमदेखि फाटफुट्ट आउन थालेका चराले ताल भरिन थालेकोछ । तालमा अहिले ३ हजार ५ सय बढी चरा आईसकेको जानकारहरु बताउँछन् । तालमा उत्तर तिरबाट दैनिक जसो सय देखि २ सय बढी पाहुना चरा आउने गरेको स्थानीयले बताएका छन् ।
तालमा सबैभन्दा बढी मरुल चरा आएका छन् । त्यसको संख्या ३ हजार बढी छ । त्यस्तै खडखडे, सिलसिले हाँस, कालीजरे हाँस र मालक हाँस आएका छन् । यी चराको संख्या ३ सयदेखि ५ सय सम्म रहेको छ ।
त्यस्तै सुईरोपुच्छ्रे चरा, बेल्चाठुडे हाँस, सिन्दुरे हाँस र कैलो टाउके हाँस पनि आएका छन् । यी चरा पनि ५ सयको संख्यामा रहेका छन् । महत्वपुर्ण त विश्वमै दुर्लभ हरि हाँस तालमा प्रसस्त देखिएका छन् । उक्त चरा पश्चिमको घोडाघोडी ताल पछि सबैभन्दा धेरै २ सय ५० को संख्यामा यहाँ देखिएको हो । तालमा ३० प्रजातिका चरा आएका छन् ।
नेपालको तराई तिर चिसो सुरु हुन थालेपछि उत्तरबाट यहाँ चरा आउन लागेका हुन् । उनीहरु यहाँ जाडोका महिना असोजदेखि माघ अन्तिमसम्म बस्ने गर्दछन् ।
यहाँ साइबेरिया, रुस, चीन, मंगोलिया, मध्य एशियाका तुर्के्मिनिस्तान र किर्गिस्तान लगायतका देशबाट यहाँ चराहरु आउने गरेको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताउनुभयो । ती देशहरुमा बढी जाडो हुने भएकाले चरा जाडो छल्न नेपालको तराईतिर आउने गर्दछन् । त्यस्तै जाडोका बेला पर्ने हिउँले उनीहरुले आहार नपाउँदा पनि चरा यता आउने गरेको पनि उहाले बताउनुभयो । चरा यहाँ गर्मी हुन थाले पछि फेरी उतैतिर फर्कने गर्दछन् ।
चरा सातादेखि १० दिनसम्म लगाएर यहाँ आउने गर्दछन् । करिब ४ देखि ५ हजार माईल उडेर चराहरु यहाँ आउछन् । धेरै चरा सिधै उडेर ३–४ दिनमै पुग्छन् भने कतिपय चरा रोकिँदै साता लगाएर यहाँ पुग्ने उनले बताउनुभयो ।
सदरमुकाम तौलिहवादेखि करिव ११ किमी उत्तर कपिलवस्तु नगरपालिका वार्ड नं. ९ मा पर्ने तालमा गत वर्ष जस्तै यसवर्ष पनि धेरै चरा आउने संकेत देखिएकोमा स्थानीय निकै खुसी छन् ।
तालमा सिमसारमा आश्रित ६१ प्रजातिका र अन्य ५७ प्रजातिका चरा पाइन्छन् । त्यस्तै विश्वमै दुर्लभ मानिएका ७ प्रजातिका चराहरु पाइने कुरा नेपाल पंक्षी संरक्षण संघले जनाएको छ । १ सय ५७ हेक्टरमा फैलिएको ताल कृत्रिम रुपमा बनाइएको नेपालकै सबैभन्दा ठूलो ताल हो ।
१४ कार्तिक २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया