७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

सुरु भयो छठ पर्वको तयारी



जनकपुर । 

मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरु भएको छ । कात्तिकको शुक्लपक्ष अर्थात् शनिबार आउन लागेको छठ पर्वका लागि स्थानीय पोखरी, नदी तथा विभिन्न जलाशय सझाउने काम धामधम भइरहेको छ ।

युवा क्लब र संस्थाको अग्रसरतामा जनकपुरका विभिन्न पोखरी तथा सरोवरलाई दुलहीझैँ सिंगारिएको छ । जनकपुरका गंगा सागर, धनुष सागर, अग्निकुण्ड, अङ्गराजसर, दशरथ तलाउसहितका पोखरीका डिलमा छठ पूजा गर्नेको ठुलो घुइँचो लागेको छ ।

गंगा सागर छठ पूजा समितिका अध्यक्ष अशोकलाल दासले गंगा सागरको डिलमा छठका लागि घाट निर्माण कार्य तीव्र गतिमा भइरहेको बताए । पोखरीको चारैतिरका डिलमा करिब चार हजारभन्दा बढी मानिस एकसाथ बसेर छठ पर्व मनाउने गरेको उनले जानकारी दिए ।

छठ पूजाका लागि जनकपुरका व्रतालुहरू राति पूजा स्थानमै बस्छन् भने ग्रामीण क्षेत्रमा अधिकांश व्रतालु साँझ घर फर्कछन् । र, भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अर्घ दिने गरिन्छ । विशेषगरी, भाकल गरेकाहरूले यो पर्व मनाउँछन् । यो पर्व  मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ । शनिबारदेखि सुरु भएको पर्वअन्तर्गत आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुन्छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६ बिहिबार ००:००  ७ : १० बजे