७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

‘अक्षय कोष’ स्थापनार्थ रोटरी-रोट्र्‍याक्टको भैलो, एकै स्थानमा ३ लाख बढी संकलन



मायादेवी अनलाइन, कपिलवस्तु । 

रोटरी क्लव अफ मिडटाउन कपिलवस्तु र रोट्टयाक्ट क्लव अफ कपिलवस्तुले देउसी भैलो सुरु गरेको छ । नेपालीहरुको दोश्रो ठुलो पर्व तिहारको अवसर पारी गरिब, दुखि, विपन्न, असक्त र ज्येष्ठ नागरिकको उपचारको लागि अक्षय कोष स्थापना गर्ने उद्धेश्यले देउसी भैली कार्यक्रम आयोजना गरिएको हो । विशुद्ध सामाजिक संस्थाको रुपमा विश्वमा नै ख्याति प्राप्त क्लव रोटरी र रोट्टयाक्ट कपिलवस्तु मिडटाउनले बाणगंगा ७ बनगाइ चोकबाट देउसी सुरु गरेको थियो । देउसी सुरु भएसंगै दक्षिणा दिनेहरुको ओइरो लागेको छ । नगरपालिकाले १ सय ५० भन्दा बढी दान नगर्न भने पनि अशक्त, विपन्न्न तथा ज्येष्ठ नागरिकको उपचारको लागि अक्षय कोष स्थापना गर्ने लक्ष्य रहेका कारण चाडपर्व खर्च कटाएर बिभिन्न ब्यक्तिहरुले मनग्य सहयोग गरेका छन् ।

बनगाइमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा नम्बर ७ का वडाध्यक्ष विष्णु गिरीले रोटरी र रोट्र्याक्टले कुरो मात्रै नभई काम पनि गरिरहेको यथार्थ आफूकहाँ भएकाले दिल खोलेर सहयोग गर्न आग्रह गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै रोटरीका चार्टर प्रेसिडेन्ट लक्ष्मण अधिकारी, आइपिपि बासुदेव घिमिरे, वर्तमान अध्यक्ष वीरेन्द्र खाँण, रोट्रियन टोपनारायण भण्डारी र रोट्याक्टका अध्यक्ष गणेश कार्कीले बोल्दै भैली खेलेर उठेको पैसा दुरुपयोग नहुने भन्दै ढुक्क भएर दान गर्न आग्रह गर्नुभयो ।

तिहारको अघिल्लो दिन सोमबार जितपुर चोकमा पनि भैली सम्पन्न भएको छ । जितपुरको भैलीमा राति १० बजेसम्म नै हेर्ने र सहयोग गर्नेहरुको घुइचो लागेको छ । जितपुरमा मात्रै सोमबार ३ लाख बढी संकलन भएको अध्यक्ष खाँणले बताउनु भयो । सामान्य अवस्था भएका ब्यक्तिदेखि ठुलाठुला उद्योगी, ब्यापारी शिक्षक, प्राध्यापक, राजनैतिक दल र बिभिन्न संघसंस्थाका ब्यक्तिहरुले भोली जोसुकैलाई जेसुकै हुन सक्ने भन्दै अक्षयकोष बनाउन सहयोग गरिरहनु भएको छ ।

भैलीमा राष्ट्रियता र संस्कृति झल्कने खालका गीतसंगितहरुमात्र प्रस्तुत भइरहेका छन् । पछिल्लो समय चाडपर्वको नाममा विकृति फैलिएको भन्दै यस्ता प्रस्तुति राखिएको क्लवले जनाएको छ । चार नम्बरको कार्यक्रममा अतिथि कलाकार अर्जुन मिश्र, मिलन कँडेल, अभिसेक आले मगर र युना कार्काले विशेष प्रस्तुति दिनुभएको थियो । भैली जम्मा २ दिन हुने छ । तिहारको अघिल्लो दिन भैली सकिसकेको छ भने  अब बुधबार मात्र एक दिन भैली हुने रोट्टयाक्टका अध्यक्ष कार्कीले जनाउँदै यो पवित्र कार्यमा सहयोग गर्न आग्रह गर्नुभएको छ । बुधबार वैरिया, पिपरा, बोडगाउँ, कोपवा, गजेहडा लगायतका स्थानमा देउसी भैले हुने छ । सामान्य उपचार गर्न पनि नसकेर कपिलवस्तुका कतिपय आमाबुबा, दाजुभाइ दिदीवहिनीको अवस्था नाजुक भएको अवस्था देखेपछि भैलीमार्फत् अक्षयकोष स्थापना गरी सहयोग गर्न पहिलोपटक रोटरीले भैलो सुभारम्भ गरिएको अध्यक्ष वीरेन्द्र जानकारी दिनुभयो । असहाय विपन्न र अशक्त भएको वास्तविक परमाणको आधारमा उहाँहरुलाई अक्षयकोषबाट सहयोग गरिने छ । भैलीपछि संकलन भएको रकमलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने र एक कार्यक्रमकाबीच ‘अक्षय कोष’ स्थापना गरिने चार्टर प्रेसिडेन्ट अधिकारीले बताउनु भयो । कार्यक्रमको संचालन रेडियो मायादेवी अनलाइनका प्रधान सम्पादक तथा रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपानेले गरिरहनु भएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६ मंगलबार ००:००  ९ : ०० बजे