७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

तिहारको अन्तिम दिन आज भाईटीका



काठमाडौं ।
तिहारको अन्तिम दिन आज (मङ्गलबार) भाइटिका । दिदीबहिनीहरुले दाजुभाईको दिर्घायु, सुख तथा समृद्धिको कामना गर्दै मनाउँदैछन ।
टिकाको साइत ११ बजेर ५५ मिनेटमा उपयुक्त रहेको नेपाल पञ्चाङग निर्णायक समितिका अध्यक्ष प्राध्यापक रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
उहाले साईत खोज्नेहरुको लागि एउटा समय तोकिए पनि दिनभर टिका लगाउन बाधा नहरेको स्पष्ट पार्नुभयो ।
दिदी बहिनीहरुले आज आफ्ना दाजुभाईलाई धार्मिक विधि अनुसार मण्डप बनाई अष्टचिरञ्जिवीका साथै यमराज र यमुनाको पूजा गरी त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओइ लाउने मखमली, सयपत्री र दूबोको माला लगाइदिएर दिर्घायुको कामना गर्दछन् ।
पौराणिक मान्यता अनुसार यमुनाले आफ्ना दाजु यमराजलाई विशेष सम्मानपुर्वक पूजा गरेर टीका लगाई दीर्घायुको कामना गरेको हुँदा त्यसैको सम्झनामा आज दिदीबहिनीले भाइटिका लगाउने परम्परा चलिआएको हो ।
आज लगाइदिने टीकामा विषेश गरी ७ वा ५ रंग प्रयोग गर्नुका साथै दाजुभाइलाई सगुन, मिठाई, फलफूल, ओखर, कटुस, मसला तथा सेलरोटी दिने चलन छ ।
दिदीबहिनीहरुले टीका लगाइदिए पछि दाजुभाइहरुले पनि आफ्नो गच्छे अनुसार उपहार तथा दक्षिणा दिएर अटल सौभाग्य, सुख, समृद्घि र चिरायुको कामना गर्दछन् ।
दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने चलन छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६ मंगलबार ००:००  ६ : २९ बजे