बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीको ठाडा अमराई जुकेना जलुके सडकखण्डको शितगंगा-५ रातापाटा पिपलको बोट नजिकै सोमवार दिउँसो बस दुर्घटना हुँदा १७ जना घाईते भएका छन् । अमराईबाट शिबाहदह यात्रु बोकेर जाँदै गरेको लु २ ख ६६१ नम्बरको बसको ब्रेकको पाईप एक्कासी फुटेपछि अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटना भएको जानकारी पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय ठाडाका सहि सालिकराम खनालको नेतृत्वमा गएको प्रहरीको टोली र स्थानीय बासिन्दाले उद्दार गरि घाईतेहरूलाई ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको लागि ल्याएका थिए ।
सामान्य प्राथमिक उपचारपछि थप उपचारका लागि गम्भीर प्रकृतिका ५ जना घाईतेलाई प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएको छ । अन्य घाईतेहरूको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । घाईते हुनेहरूमा अर्घाखाँची सिनपा १३ का ४ बर्षीय अशोक परियार, सिनपा ६ जुकेनाका ३१ बर्षीय माधवराज भुसाल, सिनपा ७ जुवाकोटका ४६ बर्षीय उमा लामिछाने, सिनपा ५ जुकेनाका ३० बर्षिय हिमराज पौडेल, शिनपा ६ दाङसिङका २० बर्षीयखिमा परियार, शिनपा ४ ओखलढुंगाका ३२ बर्षीय अनिता थापा, शिनपा ५ चाकलढुङगाका २८ बर्षीय दिपकराज पौडेल, शिनपा ७ जुकेनाका ४ बर्षीय बालक सुवास महत र शिनपा ६ खमारीबासका ३२ बर्षीय सुमित्रा भाट क्षेत्री रहेका छन् ।
यसै गरी कपिलवस्तु शिवराज नगरपालिका ४ चनौटाका ६२ बर्षीय रूमकला पौडेल, शिवराज नगरपालिका ३ खैरेनीपुर कपिलवस्तुका ६२ बर्षीय तोयनारायण बन्जाडे, शिवराज ३ कै ३१ बर्षीय हुमलाल पौडेल, ६० बर्षीय चुमकला बिक, चार नम्बर कटुवाटोल कपिलवस्तुका ३० बर्षीय सीता थारू र रूपन्देही बुटवल उपमहानगरपालीकाका ३१ बर्षीय तुलाराम बन्जाडे घाईते भएका छन् ।
घाईते मध्ये उमा लामिछाने, हिमराज पौडेल, चुमकला बिक, सीता थारू र सिनपा ६ जुकेना दाङसिङका ४ बर्षिय श्रीधर नेपालीलाई थप उपचारका लागि प्रादेशि अस्पताल बुटवल पठाईएको छ ।
गाडिको क्षमता भन्दा बढि यात्रुको चाप भएकाले ब्रेकको पाईप फुटेर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा ४२ जना सवार रहेको बताईएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सडकमै अनियन्त्रित भई बस पल्टिदा अमराई जुकेना सडक अवरुद्ध भएको छ । सडक अवरुद्घ हुँदा दर्जनौ गाडि बिच बाटोमै अलपत्र परेका छन् भने भोलि भाईटीका लगाउन जाने आउने यात्रुहरूलाई आफ्नो गन्तव्यमा पुग्न निकै समस्या भएको छ ।
११ कार्तिक २०७६ सोमबार ००:००
6
Shares
प्रतिक्रिया