८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

स्थानीय तह र सूचना प्रबिधि



अनिल अधिकारी ।
बि.सं. २०२८ सालको राष्ट्रिय जनगणनाको तथ्याङ्क प्रशोधनको क्रममा नेपालमा कम्प्युटर प्रविधिको प्रयोग भए पश्चात नेपालले सूचना प्रविधिको क्षेत्रमा प्रवेश गरेको भएपनि हालसम्म सूचना प्रविधको क्षेत्रमा भएको विकासको सन्दर्भमा नेपालले यस क्षेत्रमा अपेक्षित प्रगति तथा उल्लेखनीय उपलब्धी हासिल गर्न सकेको छैन । तथापी यस क्रममा विगतमा केही प्रयासहरु भने नभएका होइनन् । राष्ट्रिय कम्प्युटर केन्द्रको स्थापना गरी सो केन्द्र मार्फत कम्प्युटर प्रविधिसम्बन्धी तालिम कार्यक्रम संचालन र कतिपय क्षेत्रमा कम्प्युटर प्रविधिको प्रयोगको कार्य गरिएको थियो । आर्थिक उदारीकरणको नीति अवलम्बन संगै यस क्षेत्रमा पनि नीजि क्षेत्रको संलग्नता व्यापक बन्दै गएको र निजी क्षेत्रबाट सूचना प्रविधि शिक्षा, सूचना प्रविधिको प्रयोग र सूचना प्रविधि सम्बन्धी जनशक्तिको विकासमा उल्लेखनीय योगदान रहेको छ ।
आजको युग भनेको बिज्ञान र प्रविधिको युग हो । हाम्रो दैनिक जीवन प्रविधिमा निर्भर छ, त्यसमा पनि सूचना तथा संचार प्रविधिमा अझ बढी छ । हामी एक सेकेन्ड पनि सूचना तथा संचार प्रविधिबाट अलग रहन सक्दैनौ । सूचना तथा संचार प्रविधिबिना हाम्रो जीवन कस्तो हुन्छ भनेर कल्पना पनि गर्न चाहन्नौं । जुनसुकै बेला पनि हामी अपडेट भैराख्नु पर्छ। अन्यथा, हामी आफैलाई कुनै दुर्गम स्थानमा रहेको महशुस गर्न थाल्छौं ।
ध्वनि, तस्वीर, अक्षर तथा अंकको रूपमा सूचनाहरूलाई विद्युतीय यन्त्रहरू, कम्प्युटर तथा दुरसञ्चार प्रविधिको प्रयोग गरि भण्डारण, सम्पादन, सम्प्रेषण, संग्रह र प्रवाहलाई सूचना प्रविधि भनिन्छ । दिनप्रतिदिन बढ्दै गईरहेको सूचना प्रविधिको विकाससंगै यसको कार्यक्षेत्र पनि फराकिलो हुदै गइरहेको छ । नेपालको सन्दर्भमा सूचना प्रविधि, बिधुतिय अथवा अनलाइनबाट गरिने कारोबारको शुरुवात एउटा नयाँ आयाम हो । सूचना प्रविधिको द्रुततर विकासले नेपाल जस्ता अल्पविकसित मुलुकहरुलाई शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा व्यापार लगायतका आर्थिक तथा सामाजिक क्षेत्रको दिगो विकास गर्ने सुवर्ण अवसरहरु प्रदान गरेको छ ।
अहिले सबैभन्दा धेरै जनसम्पर्क चाहिने निकायहरू, सरकारी, गैरसरकारी संस्थाहरू, जनताको सेवामा काम गरिरहेका सार्वजनिक निकायहरू, उद्योग तथा व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन जस्ता कुनै पनि क्षेत्र सूचना प्रविधिको उपयोगविना अपुरो हुन्छ । एक्काइसौं शताब्दी सूचनाप्रविधि को युग हो । विकासोन्मुख देशमा सूचना प्रविधिको विकासले महत्वपूर्ण भूमिका खेलेको छ । सूचनाप्रविधि को क्षेत्रमा आएको परिवर्तनलाई हरेक स्थानीय तहमा पुर्याउन आवश्यक छ ।
प्रविधिले एक्दमै फट्को मारिरहेको अहिलेको यो समयमा सबै क्षेत्रमा यसको प्रभाव उत्तिकै परेको छ । विद्यालय शिक्षा सिकाइमा पनि यसको उत्तिकै प्रभाव पर्नु हाम्रो लागि कुनै आचश्र्यको कुरा होईन । कक्षा कोठामा शिक्षा र सिकाइमा प्रविधिको प्रयोग गरेर विद्यावारिधिहरुलाई शिक्षा दिनु डिजिटल शिक्षा र सिकाई हो । गए ती दिनहरु जहाँ विद्यावारिधिहरुले कापि, कलम बोकेर स्कुल आउंथे र शिक्षकहरुले कालोपाती सेतोपातीमा पढ्थ्यौं । अब बिस्तारै यि कुराहरुलाई डिजिटल प्रविधिले बदल्दैछ । विद्यार्थीहरु अब ल्यापटप, ट्याब्लेट बोकेर पढ्न आउनेछन र शिक्षक हरु पनि प्रोजेक्ट, ल्यापटप र अरु डिजिटल सन्चारका मध्यमबाट शिक्षा प्रदान गर्नेछन ।
सूचना तथा संचार प्रविधि हाम्रो व्यक्तिगत जीवनमा मात्र होइन सार्वजनिक जीवनमा पनि उत्तिकै महत्वपुर्ण छ । हाम्रो सार्वजनिक जीवन सार्वजनिक निकायले प्रदान गर्ने सेवा प्रवाह द्वारा प्रत्यक्षरुपमा प्रभावित हुन्छ । बढी भिडभाड हुने मध्यको सार्वजनिक निकाय भनेको स्थानीय निकाय हो जहा जनताले सरकारको उपस्थिति रहेको महशुस गर्न पाउछन् । जिल्ला विकास समिति (जिविस), नगरपालिका र गाउँ विकास समिति (गाविस)हरु ती स्थानीय निकाय हुन जहा हाम्रो आधारभूत विवरण जस्तै जन्म, विवाह, बसाइ (सराइ आदि घटना दर्ता गरी अभिलेख राखिएको हुन्छ ।
स्थानीय निकायहरु भनेको स्थानीय स्तरमा विकासका गतिविधि संचालन गर्ने आधारभूत इकाई हुन् । जनताका प्रतिनिधिद्वारा परिचालित हुने यी इकाईहरुले विषयगत कार्यालयहरु र सरोकारवाला निकायहरुसंग समन्वय गरी विकासका कार्यक्रम संचालन गर्नुपर्ने हुन्छ । त्यसैले सरकारी कार्यालयहरु मध्ये स्थानीय निकायका कार्यालयलाई सर्वसाधारणको बढी चासो हुने कार्यालयको रुपमा लिन सकिन्छ । यसकारण पनि स्थानीय निकायले कुनै प्रणाली वा प्रविधि प्रयोगमा ल्याउनु अघि कर्मचारीको क्षमता र रुचीका अलावा जनताको चेतनास्तर र पहुँचको राम्रो ख्याल गर्नु पर्दछ ।
संचारमा सर्वसाधारणको बढ्दो पहुँचले स्थानीय निकायहरुले सेवा प्रवाहमा सूचना तथा संचार प्रविधि प्रयोग गर्नुपर्ने संकेत गरिरहेको छ । यसले सेवा प्रदायक र सेवाग्राही दुवैलाई फाइदा पुग्ने देखिन्छ । स्थानीय निकायका कर्मचारी यसका प्रत्यक्ष लाभग्राही हुन् भने नागरिक अप्रतक्ष्य रुपमा लाभान्वित हुन्छन् । यदि स्थानीय निकायका कर्मचारीहरु सूचना तथा संचार प्रविधिका साधन प्रयोग गर्न सक्षम भएमा तिनीहरुले नागरिकलाई चुस्त दुरुस्त सेवा प्रदान गर्न सक्नेछन ।
स्थानीय निकायमा सूचना तथा संचार प्रविधिको प्रयोग गर्नुको पछाडी धेरै फाइदा छन् । पहिलो त डीजीटाइज गरिएपछी सूचना प्राप्त गर्न सजिलो हुन्छ जुन विकासको लागि अति आवश्यक कडी हो । दोश्रो जटिल कामहरु पनि सहज तरिकाले गर्न सकिने हुनाले थोरै समयमा धेरै काम गर्न सकिन्छ । त्यसैगरी फाइल र ढड्डाको प्रयोगमा कमी आइ कार्यालय सफा र चिटिक्क देखिन्छ । अनि डीजिटाइज गरिएका सूचनाहरु लामो समयसम्म सुरक्षित राख्न सकिन्छ जुन आवश्यक परेको बेलामा पुनस्प्रयोग गर्न सकिन्छ ।

एक्काइसौं शताब्दी सूचनाप्रविधि को युग हो । विकासोन्मुख देशमा सूचना प्रविधिको विकासले महत्वपूर्ण भूमिका खेलेको छ । सूचनाप्रविधि को क्षेत्रमा आएको परिवर्तनलाई हरेक स्थानीय तहमा पुर्याउन आवश्यक छ ।

हाम्रा स्थानीय निकायहरुलाई सूचना तथा संचार प्रविधि मैत्री बनाउन विभिन्न साधन र उपायहरु अबलम्बन गर्न सकिन्छ । कार्यालयको नाम संगै समय, तापक्रम आदि सूचना युक्त लेड डिस्प्ले कार्यालयको गेटमै राख्न सकिन्छ । त्यस्तै कर्मचारीले आफ्नो कार्यकक्षमा छिर्नु अघि बिध्युतिय हाजिरी प्रणालीमा आफ्नो औठाछाप लगाई कार्यालयमा उपस्थित भएको प्रमाणित गर्न सक्छन । कार्यकक्षमा गइ प्रत्यक कर्मचारीले आफ्नो कम्प्युटरमार्फत कार्यालयका कामकाज गर्न सक्छन । आफुलाई चाहिने सफ्टवयर प्रयोग गर्न सक्छन, त्यो अकाउन्टको हुन सक्छ, जिन्सीको या योजनाको सफ्टवयर हुन सक्छ, आफ्नो शाखा र जिम्मेवारी अनुसार फरक फरक हुन सक्छ । इन्टरकमको प्रयोग गरी अन्तर शाखाबीचको सम्पर्क र समन्वय प्रभावकारी बनाउन सकिन्छ । कार्यालय प्रमुखले सिसिटिभी मार्फत आफ्ना कार्यालयको विभिन्न शाखाहरुमा भैरहेको कार्यसम्पादन अनुगमन गर्न सक्छन । कतिपय कार्यालयमा सेवाग्राहीको भिड व्यस्थापन गर्न गाह्रो भैरहेको हुन्छ । सो को लागि क्यु मेनेजमेन्ट सिस्टम प्रयोगमा ल्याउन सकिन्छ । सूचना प्रवाहलाई प्रभावकारी बनाउन डिजीटल सूचना पाटी राख्न सकिन्छ । नियमित रुपमा अध्यावधिक गरिएको वेबसाइट, आधिकारिक सामाजिक संजालका साइट वा मोबाइल एप मार्फत नागारिकले घरमै बसी बसी कार्यालयका सूचना प्राप्त गर्न सक्छन । त्यति मात्र होइन नागरिकले कार्यालयले प्रदान गर्ने सेवा सुविधाबारे जानकारी लिन टोल फ्री नम्बरको प्रयोग गर्न सक्छन । कार्यालयका कर्मचारी, सम्बन्धित सरोकारवाला निकायहरु या कुनै संगठित समूहको बैठकबारे जानकारी गराउने रुप एसएमएस पनि यौटा प्रभावकारी साधन बन्न सक्छ । प्रत्येक कर्मचारी आफ्नो इ-मेल अकाउन्टमार्फत विभिन्न निकायले मागेको विवरण वा डकुमेन्ट पठाउन सक्छन । एमएस आउटलुक, गुगल ड्राइभ, ड्रप बक्स आदिको प्रयोग गर्न सक्षम हुन्छन । यसले सूचना व्यवस्थापनमा महत्वपुर्ण भूमिका खेल्छ ।

(लेखक कम्प्युटर प्रशिक्षकका साथै माईक्रोटेक टे«निङ्ग एकेडेमीको प्रबन्ध संचालक पनि हुनुहुन्छ ।)

प्रकाशित मिति : ११ कार्तिक २०७६ सोमबार ००:००  १२ : ३९ बजे