२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

फिफा वरीयतामा नेपालको ६ स्थान खस्कियो



काठमाडौं ।
विश्वकप छनोटको दोस्रो चरणको अवे खेलमा नेपालको निरन्तर पराजयको नतिजा फिफाले सार्वजानिक गरेको वरीयतामा पनि देखिएको छ। नेपाल यसअघि भन्दा ६ स्थान खस्किँदै १६७ औं स्थानमा पुगेको छ। फिफाले बिहीबार सार्वजनीक गरेको नयाँ वरीयतामा नेपाल ६ स्थान तल झर्दै १ सय ६७ औँ स्थानमा पुग्दा अस्ट्रेलिया र जोर्डनसँगको फराकिलो हार नै मुख्य कारण हो। विश्वकप छनोटका पछिल्ला दुई खेलमा फराकिलो हार ब्यहोर्न पुग्दा वरीयतामा ठूलो गिरावट आएको हो। पछिल्लो खेलमा नेपाल अष्ट्रेलियासँग ५-० र जोर्डनसँग ३-० ले पराजित भएको थियो। दक्षिण एसियाली फुटबलमा नेपालभन्दा माथिल्लो वरीयतामा रहेको माल्दिभ्स एक स्थान तल झर्दै १ सय ५४ औँ स्थानमा छ। यस्तै भारत दुई स्थान गुमाउँदै १ सय ६ औँ स्थानमा पुग्दा नेपालभन्दा तल्लो वरीयतामा रहेको बंगलादेशले भने तीन स्थान सुधार गर्दै १ सय ८४ औँ स्थानमा आफुलाई पुर्‍याएको छ। बंगलादेशले पछिल्लो खेलमा वरीयतामा माथि रहेको भारतलाई बराबरीमा रोक्न सफल भएको थियो। भुटान चार स्थान तल झर्दै १ सय ८९ औँ स्थानमा पुग्दा दक्षिण एसियाको अर्को मुलुक पाकिस्तान दुई स्थान सुधार गर्दै २ सय १ औँ स्थान र श्रीलंका एक स्थान तल झर्दै २ सय ३ औँ स्थानमा रहेको छ। विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा यथावत रहँदा फ्रान्स दोसो स्थानमा छ भने ब्राजिल तेस्रो तथा इंग्याण्ड चौंथो स्थानमा रहेको छ। उरुग्वेले एक स्थान सुधार गर्दै शीर्ष पाँच भित्र पर्न सफल भयो ।

प्रकाशित मिति : ७ कार्तिक २०७६ बिहिबार ००:००  ३ : ४४ बजे