घोराही ।
दाङका कुखुरापालक किसान आन्दोलित भएका छन् । दाना र चल्लाको मूल्य बढे पनि आफूहरुले उत्पादन गरेको तयारी कुखुराको मूल्य झन् घटेको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।
कुखुरा किसानले आफूहरु पटक–पटक अन्यायमा परेको भन्दै आगामी यही कात्तिक १२ गतेदेखि अनिश्चितकालका लागि कुनै पनि किसानले ब्रोइलरको चल्ला माग नगर्ने र कुखुरा नपाल्ने बताएका छन् । कुखुरापालक किसानको सङ्गठन किसान सरोकार मञ्चका अध्यक्ष विष्णुप्रसाद न्यौपानका अनुसार चल्ला र दानाको मूल्य सप्लायर्सहरुले अस्वाभाविकरूपमा बढाए पनि किसानले उत्पादन गरेको कुखुरामा भने अत्यधिक गिरावट आएको बताए ।
उनले आफूहरुको माग सम्बोधनका लागि दाना र कुखुराको चल्लाको मूल्य घटाउनुपर्ने वा उत्पादन भएका तयारी कुखुराको मूल्य बढाउनुपर्ने मुख्य माग रहेको बताए । किसानका समस्या सम्बोधन नभए कात्तिक १२ गतेबाट कुनै पनि कुखुरापालक किसानले चल्ला खरीद नगर्ने घोषणा किसानले गरेका छन् । यसलाई आफूहरुले कडाइका साथ पालना गर्ने उनीहरुको भनाइ छ ।
पटक–पटक दाना र चल्लाको मूल्यमा वृद्धि हुँदा पनि कुखुराको मूल्यमा गिरावट आएको, सप्लायर्सहरुले समयमा कुखुरा नउठाउने, किसानले तत्काल कुखुराको मूल्य नपाउने, सप्लार्यसहरुले मनपरी मूल्य निर्धारण गर्ने काम गरेको अध्यक्ष न्यौपानेले बताए । यस्तै कुखुरापालक किसानले विभिन्न सात बुँदे माग राखेका छन् ।
उनीहरुले तयारी कुखुराको मूल्य बढ्नुपर्ने, समयमा तयारी कुखुरा बजारसम्म सप्लायर्सले पु¥याइदिनुपर्ने, कुखुराको रकम तत्काल पाउनुपर्ने, कुखुरा, दाना र चल्लाको मूल्य दैनिक प्रकाशित हुनुपर्ने, बच्चा र दाना गुणस्तरीय हुनुपर्नेलगायतका मागसमेत राखेर आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।
७ कार्तिक २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया