१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

वडाध्यक्ष गिरीले सिफारिस नदिएको सुस्मिताको दुई वटा ‘जन्म प्रमाण’, आमाको अविवाहित नागरिकता !



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं. ७ अहिले चर्चामा छ । जिल्लामा सबैभन्दा नमुना काम गरी सधै चर्चामा आउने वडा नं. ७ अहिले नागरिकता सिफारिसमा चर्चामा छ । वडा नं. ७ का वडाध्यक्ष विष्णु गिरीले राजनीति पूर्वाग्रह राखेर नागरिकताको सिफारिस नदिएको भन्दै सूर्य प्रसाद बरालले मिडियासंग गुनासो गरेपछि यो विषय झनै चर्चा बनेको हो । वडाध्यक्षले नागरिकता सिफारिस गर्ने कानुनी प्रावधान छ । तर, वडाध्यक्ष गिरीले के कारणले नागरिकताको सिफारिस दिन मान्नुभएन् ? कारण के हो ? के प्रमाणका आधारमा नागरिकता सिफारिस रोकिन पुग्यो ? मायादेवी अनलाइनले यसको वास्तविकता वडाध्यक्ष गिरीसंग बुझ्ने प्रयास गरेको छ ।

के कारणले नागरिक सिफारिस रोकिन पुग्यो !

वडाध्यक्ष गिरीका अनुसार सूर्य प्रसाद बराल रुपन्देहीको सैनामैना नगरपालिका सालझण्डीका स्थायीबासी हुन् । बराल २०६७ कार्तिक १३ गते सालझण्डीबाट बसाई सरी वाणगंगा नपा वडा नं. ७ बनगाईमा आएको वडा कार्यालयमा पेश भएका प्रमाणमा उल्लेख छ । उनी ५ बर्ष बनगाईमा बसी पुनः घरजग्गा मिना पोख्रेल (दिदी सासु) लाई विक्री गरी पहिलेकै स्थान दुधराक्ष सालझण्डी बसाईसरेका थिए ।
बराल असोज अन्तिम साता छोरी सुस्मिता बरालको नागरिकता सिफारिस लिनका लागि वडा कार्यालय मोतीपुर पुगेका हुन् । बनगाईमा विगत ५ बर्ष देखि स्थायी बसोबास नगरेका बराल दुधराक्षमा नै बसोबास गर्दै आएका स्रोतको भनाई छ ।
वडा कार्यालयले गत बर्ष देखि वडालाई सुन्दर, रमणीय र हरियाली बनाउका लागि १० वटा सुचकहरु पूरा गर्नुपर्ने प्रावधान राखेको छ । नगर कार्यपालिकाबाट यो प्रावधान पारित गरी वडाले कार्यान्वयन गर्दै आएको छ । जुन कामलाई जिल्लाबासीले उत्कृष्ट भन्दै आएका छन् ।
वडामा कुनैपनि सिफारिस लिन आउने सेवाग्राहीले पहिला आफु बसेको टोलको टोलविकास संस्थाबाट सिफारिस गर्नुपर्ने वडाको प्रावधान छ । सोही प्रावधान अन्तर्रगत बुँदा नं. ११ मा कोइली बनगाई टोल विकास संस्थाले सूर्य बरालको घर र बसोबास टोलमा नभएको भनि वडा कार्यालयलाई असोज २३ गते सिफारिस गरेको थियो ।
बरालले छोरी सुस्मिताको नागरिकताका लागि वडा कार्यालयमा प्रमाणहरु पेस गर्दा सुस्मिता रुपन्देहीको सालझण्डी ५ मा २०५७÷५÷२३ मा जन्मिएको र उनै सुस्मिता २०५८÷४÷१८ मा कपिलवस्तुको मोतीपुर ३ मा जन्मिएको बसाईसराई र जन्मदर्ता पेश गरेका थिए । एउटै व्यक्ति दुई ठाउँमा र दुई पटक जन्मिएको देखिए पछि वडा कार्यालयले शंका व्यक्त गरेको थियो ।
यतिमात्र होइन् बराल रुपन्देहीको सालझाण्डी ५ बाट २०६७÷७÷१३ मा बसाईसरी वाणगंगा वडा नं. ७ मा आउदा छोरी सुस्मितालाई पनि साथमा लिएको, यिनै छोरी बसाईसराई नगर्दै २०५८÷०४÷१८ मा वाणगंगा नपा वडा नं. ७ मा जन्मिएको जन्मदर्ता रहेको छ ।
बरालकी श्रीमती (छोरी सुस्मिताकी आमा) पार्वती बरालको नागरिकता माइती तर्फबाट अविवाहित बनेकाले वडा कार्यालयले विवाह दर्ता माग गरेको थियो । विवाह दर्ता पेश हुँदा २०५५÷११÷२५ मा विवाह भएको विवाह दर्ता प्रमाण सालझण्डी ४ को ठेगानामा पेश भएको तर वडामा अरु सबै प्रमाण सालझण्डी ५ को पेश गरेको साथै पार्वती बरालले विवाह भएको १६ बर्ष पछि श्रीमान सूर्य बरालको नाम कायम नगरि अविवाहित नागरिकताको प्रतिलिपि निकालेको प्रमाण वडा कार्यालयमा पेश गरेको सबुत मायादेवी अनलाइनलाई प्राप्त भएको छ ।
साथै २०६७÷७÷१५ मा झालझण्डीबाट बसाईसरी वडा नं. ७ बनगाईमा आएका बरालले २०७२ सम्म दुई वटा नागरिकताको प्रतिलिपि पनि लिएको देखिएको छ । यी सबै प्रमाणहरु एकआपसमा बाँझेकाले वडाध्यक्ष गिरीले बसाईसराई लगि अहिले बसोबास गरेको साविक दुधराक्षबाट नागरिकता बनाउन सल्लाह दिएको मायादेवी अनलाइनलाई बताउनुभयो । बराल पनि आफुले भनेको कुरामा सहमत भै बसाईसराई लैजान अनलाइन फारम भरी टोकन नंम्बर समेत लिई आवश्यक कागजात सहित वडा कार्यालयमा निवेदन गरेको र उक्त दिन कम्युटर सिष्टमले काम नगरेकोले बसाईसराई दर्ता प्रिन्ट आउट हुन नसेकेको वडाध्यक्ष गिरीले स्पष्ट पार्नुभयो । बरालले अर्को दिन बसाईसराई लैजान्नँ, छोरीको नागरिकता यहिबाट बनाउनुपर्छ भन्दै जिद्दी गरेको गिरीले सुनाउनुभयो ।
उक्त समस्याका बारेमा के गर्ने भनि जनप्रतिनिधि, टोलविकास संस्थाका पदाधिकारी र कर्मचारीलाई साथमा राखि इलाका प्रशासन कार्यालय जीतपुर चारनम्बरका प्रमुख सागर अधिकारीलाई सोध्दा सर्जिमिन गर्न सल्लाह दिएको पाइएको छ । साथै वडाध्यक्ष गिरीले सचिव कृष्ण खनाललाई सर्जिमिनका लागि खटाउदा टोलका छरछिमेक, जनप्रतिनिधि, टोलविकास संस्थाका पदाधिकारीले स्थायी बसोबास नभएको भन्दै सर्जिमिन गर्न इन्कार गरेको वडा सचिव कृष्ण खनालले बताउनुभयो ।
यस विषयमा वडाध्यक्ष गिरीले आफुले कुनै राजनीति पूर्वाग्रह नराखेको भन्दै प्रमाण–पेश गर्न चुनौती दिनुभएको छ । आफु निर्वाचित भएपछि सबैको साझा बन्ने प्रयास गरेको भन्दै कांग्रेस, कम्युनिष्ट नभनी काम गर्दै आएको प्रष्ट पार्नुभयो । उहाँले थप्नुभयो, “कतिपय मिडियाले सत्यतथ्य नबुझि, प्रमाण नहेरी मेरो बदनाम गर्ने र चरित्रहत्या गर्ने मनसायले समाचार सम्प्रेषण गरेकोमा मेरो घोर आपत्ती छ । यो घटनाले मेरो सरासर चरित्रहत्या गरेकाले आवश्यक परे न्यायको लागि अदालतसम्म जान तयार छु ।”

प्रकाशित मिति : ६ कार्तिक २०७६ बुधबार ००:००  ९ : ३७ बजे