एजेन्सी ।
भारतको एक कलेजले परीक्षामा विद्यार्थीहरूको टाउकोमा कार्टुन बक्स राख्न लगाएकोमा माफी मागेको छ ।
परीक्षाहलमा हरेक विद्यार्थीले टाउकामा कागजको बाकस राखेर लेखिरहेको फोटो सार्वजनिक भएपछि खुबै आलोचना भएको थियो ।
इन्टरनेटमा छाएको फोटोमा धेरै आलोचना भएपछि कर्नाटक, हाभेरीको भगत-प्रि युनिभर्सिटी कलेजले माफी मागेको बिबिसीले जनाएको छ ।
कलेजमा रसायनशास्त्रको परीक्षा चलिरहेका बेला यी फोटा खिचिएका थिए । विद्यार्थीले एक-अर्काको कापी नहेरून् भनेर टाउकामा कार्टुन बक्स राख्न लगाइएको कलेज प्रशासनका कर्मचारीले जनाएका छन् ।
कलेजको प्रतिनिधित्व गर्दै उनले माफी समेत मागेका हुन् ।
’अर्काको कापी नहेरून् भनेर यस्तो उट्पट्याङ उपाय अपनाइयो । यसबारे हामीले अन्त कुनै स्कुलबाट सुनेका थियौं,’ कलेजका शतिशले बिबिसीसँग भनेका छन्, ’हामी माफी चाहन्छौं । तर यसमा विद्यार्थीहरूको पनि सहमति थियो । उनीहरूले आफैं बाकस लिएर आएका थिए ।’
उनले यो ’नियम’ अनिवार्य नगरिएको पनि बताएका छन् ।
फोटामा पनि केही विद्यार्थीले कार्टुन नलगाएको उदाहरण दिँदै शतिशले भनेका छन्, ’कसैले लगाएर १५ मिनेटमै निकाले। कसैले २० मिनेटमा । एक घन्टा भएपछि हामीले नै सबैलाई निकाल्न भन्यौं ।’
कलेजको यो अनौठो उपायबारे जानकारी पाएपछि क्षेत्रीय अधिकारीहरू तुरून्त अनुगमनमा गएका पनि बताइएको छ । यस्तो काम ’अमानवीय’ भएको भन्दै आलोचना गरेका थिए । कलेजले पनि माफी माग्दै यस्तो खाले काम अबदेखि नगर्ने बताएको छ । बीबीसी
प्रतिक्रिया