१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

दर्शन सहकारीको साधारणसभा, आगामी वर्षका निती तथा कार्यक्रम पारित



दीपा महत, कपिलवस्तु ।
दर्शन बचत तथा ऋण सहकारी संस्था वाणगंगा नपा वडा नम्बर ४ सिद्धिपुरको १२ औं साधारणसभा सम्पन्न भएको छ । सिद्धिपुरमा भएको साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदनका साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
कार्यक्रममा सहकारीका सचिव कृष्ण बहादुर शाहीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । शाहीले संस्थाले प्रदान गर्ने बचत सेवा तथा प्रकार, कर्जा सेवा तथा ब्याजदरको बारेमा जानकारी गराउनुभएको थियो ।
सहकारीका कोषाध्यक्ष रेशम बहादुर मल्लले आर्थिक वर्ष २०७५÷०७६ को आर्थिक प्रतिवेदन र आगामी वर्षको अनुमानित आयब्याय प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले नगर भित्रका सहकारी दर्ता प्रकृयामा आएको भन्दै छलफल पछि त्यसको निणर्य लिने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका थारुले वाणगंगामा रहेका सहकारीको विकास र प्रवर्धनको लागि आफुहरुले सक्दो पहल गर्ने बताउनुभयो । उहाँले सहकारीको नीति अनुरुप सहकारीलाई मर्ज गरेर पूँजी बढाउनु पर्नेमा जोड दिनुभयो ।
सानो पूँजीबाट सुरु गरेको दर्शन सहकारीले छोटो समयमै उल्लेख्यीय कार्य गरेको भन्दै यस आर्थिक वर्षमा सहकारीमा भाका नागेका ऋणीहरु नहुनु सुखद पक्ष भएको बताउनुभयो । फरक प्रसंगमा बोल्दै मेयर थारुले वाणगंगालाई देशकै नमुना नगरपालिका बनाउन नगरले विभिन्न किसिमका रचनात्मक कार्य गर्दै आएको भन्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथी वडा नम्बर ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले नेपालको विकासको लागि सहकारी ऐन अन्तरगत अगाडी बढ्ने बताउनुभएको छ । सानो पूँजीले विकास र समृद्धी सम्भव नभएको भन्दै अब नगरका सहकारीलाई मर्ज गरेर लैजानुपर्ने धारणा राख्नुभयो ।
वडा नम्बर १ का वडा अध्यक्ष बालकुमारी पन्तले नगरभित्रका सहकारीको हितमा नगरपालिकाले काम गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघका उपाध्यक्ष तेजप्रसाद आचार्यले सहकारीले खर्च घटाउदै आम्दानीका स्रोतहरु बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वाणगंगा नगरपालिका सहकारी शाखा प्रमुख रामप्रसाद सापकोटा, सिद्धार्थ बचत तथा ऋण सहकारीका कोषाध्यक्ष प्रकाश घिमिरे, दर्शनका पूर्व अध्यक्ष राजेन्द्र विक्रम शाहले बोल्दै शुभकामना दिनुभएको थियो ।
सहकारीका अध्यक्ष विदुर बहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव कमला खाँणले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव कृष्ण बहादुर शाहीले गर्नुभएको थियो ।
यसैबिच विगतका वर्षमा जस्तै यस वर्ष पनि सहकारीले विभिन्न ब्यक्तीलाई सम्मन गरेको छ । सहकारीले असल बचतकर्ता तर्फ बालकुमारी मल्ल, निमवा पुन लाई सम्मान गरेको छ भने असल ऋणी तर्फ मिठु सिंह ठकुरी र बेदमाया घिमिरेलाई सम्मान गरेको छ । यस्तै असल ब्यवसायी तर्फ सिला सेन, विनय बन्जाडे र जेष्ठ सदस्य तर्फ रबित बहादुर मल्ल र ओम कुमारी मल्ललाई सम्मान गरेको छ । २०६४ सालमा ३ सय २८ सेयर सदस्यबाट सुरु भएको सहकारीमा २०७६ सम्म १ हजार ४९ सेयर सदस्य रहेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७६ शनिबार ००:००  ८ : ०० बजे