२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

जोर्डनसँग नेपाल ३–० ले पराजित



एजेन्सी ।
फिफा विश्वकप छनोटको दोस्रो चरणमा नेपाल जोर्डनसँग ३-० ले पराजित भएको छ ।
जोर्डनको अम्मान रंगशालामा पहिलो हाफमा नेपालले उत्कृष्ट खेल्दै जोर्डनलाई बराबरीमा रोक्न सफल भएको थियो । बल पोसेसनमामाथि रहेको जोर्डनले चार वटा सुन्दर मौका पाए पनि गोल गर्न सकेन ।
फिफा वरीयतामा नेपाल भन्दा निकै माथि रहेको जोर्डनका अधिकांश प्रहारलाई नेपालका गोलकिपर किरण चेम्जोङले बचाए । अष्ट्रेलियाविरुद्धको खेलमा तीन जना खेलाडी परिवर्तन गरेको नेपाल सुरुवात देखि नै डिफेन्सिभ देखिएको थियो । जसमा नेपाल पहिलो हाफमा सफल पनि भएको हो ।
पहिलो हाफको अन्तिममा जोर्डनले नेपालको पोष्टमा झन आक्रमण गरे पनि किरण चेम्जोङले निकै राम्रो बचाउ गरे ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफको सुरुवातमा नै जोर्डनले चार वटा प्रहार गरेको थियो । जसमा यासीनले दुई वटा मौका गुमाए भने एकपटक फैसलको प्रहार बाहिरीयो ।
५४ औं मिनेटमा फैसलको एक्रोबेटिक सट पनि पोस्ट नजिकैबाट बाहिरियो । ५५ औं मिनेटमा नेपालका दिनेश राजवंशीले फल गरे पनि जोर्डनले पेनाल्टी पायो । जसलाई फेरहास जायदले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए ।
७५ औं मिनेटमा अञ्जन विष्टले डिबक्स बाहिरबाट गरेको प्रहारलाई जोर्डनका गोलकिपर अमिर साफीले बचाए ।
७८ औं मिनेटमा जोर्डनले अन्तर २–० मा र्पुयायो । उसका लागि अहमेद अल इर्सानले गोल गर्न सफल भए । उनले लेफ्ट साइडबाट गरेको प्रहारलाई किरण चेम्जोङले बचाउन सकेनन् ।
२ गोलको अग्रता बनाएको जोर्डनले त्यसपछि पनि आफ्ना आक्रमणलाई कायमै राख्यो । त्यसपछि उसले अरु तीन वटा सुन्दर मौका पाएको थियो । ८७ औं मिनेटमा नेपालले तेस्रो गोल खायो । नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै फैसलले हेडमार्फत गोल गरे ।
जितसँगै जोर्डनले तीन खेलमा सात अङ्क बनाएको छ । उसले तीनमा २ जित र एक बराबरी खेलेको छ । नेपालको चार खेलमा ३ अङ्क छ । नेपालले चार खेलमा तीन हार र एक जित निकालेको छ ।
विश्वकप छनोट अन्तर्गत नै २०११ मा भएको घरेलु मैदानको खेलमा जोर्डनले नेपाललाई ९–० ले हराएको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०७६ बुधबार ००:००  ७ : ४३ बजे