२ माघ २०८१, बुधबार | Thu Jan 16 2025

कपिलवस्तुमा राष्ट्रिय अपाङ्ग महासंघको बैठक



मायादेवी अनलाइन, वाणगंगा ।

राष्ट्रिय अपांग महासंघको वैठकमा राजनैतिक नेतृत्व र सहभागिताको सवाल मुख्य रुपमा उठ्ने भएको छ । महासंघको बुधबारदेखि कपिलवस्तुको बाणगंगा-४ ठाकुरापुरमा सुरु हुने तेश्रो पूर्ण वैठक र लैङ्गिकता सम्बन्धि तालिममा अपाङ्गताका राष्ट्रिय मूलभूतका सवालमा गहन छलफल हुने जनाएको छ ।

बैठक पूर्व संस्थाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी २ दिनसम्म हुने कार्यक्रमको बारेमा जानकारी दिएको हो । कपिलवस्तुबाट हालै महासंघको नेतृत्वमा पुग्नु भएका संघीय अध्यक्ष मित्रलाल शर्माले महासंघका आगामी तिन बर्षे रणनीति र कार्यक्रमका बारेमा पनि छलफल हुने जानकारी दिनुभयो । बुधबार सुरु हुने वैठकमा सात वटै प्रदेशका अध्यक्षहरु आउनु हुने छ  भने तालिममा महिला २३ पुरुष ४० गरी ६३ जनाको सहभागिता हुने छ ।

महासंघले वैठक मार्फत् मुलुकका तिनवटै तहका सरकारसंग, नीति, कानुन र कार्यक्रमहरुमा अपाङ्गता भएका ब्यक्तिको सवालको समावेशीकरण, कार्यान्वयनको तह आदिका विषयमा ठोस निर्णय लिने अध्यक्ष शर्माले बताउनु भयो । शर्माले २१ औँ शताब्दिमा मुलुक आइपुग्दासम्म पनि अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको भन्दै दुख ब्यक्त गर्नुभयो ।

संघीय संसदमा अपाङ्गता भएका व्यक्तिको संख्या कम भएका कारण आफूहरुका आवाज कमजोर बनेको उहाँको भनाई छ । महासंघका महासचिव राजु बस्नेतले मिडियाबाट आफूहरुका मागलाई जोडदार उठाइदिन आग्रह गर्नुभएको छ । उहाँले अझै पनि अपाङ्ग मैत्री संरचना नहुँदा धेरै समस्या भएको भन्दै हरेक स्थानमा अब अपाङ्ग मैत्री संरचना हुनुपर्ने बताउनु भयो ।

महासंघका अध्यक्ष शर्माको अध्यक्षता, महासचिव बस्नेतको संचालनमा सम्पन्न पत्रकार सम्मेलनमा अपाङ्गता उत्थान महासंघ कपिलवस्तुका अध्यक्ष कमल ढुँगाना लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७६ मंगलबार ००:००  ७ : ४४ बजे