मायादेवी अनलाइन, वाणगंगा ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले आउँदो सिजनमा किसानले प्रयाप्त रासायनिक मल पाउने दाबी गर्नुभएको छ । मल अभावको विषयमा चौतर्फि आरोप खेपिरहनुभएका मन्त्री खनालले आउँदो सिजनमा किसानहरुले भनेजति मल पाउने बताउनुभएको हो ।
नेकपा वाणगंगा नगर कमिटीले आज आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै उहाँले मल अभाव भएकोमा आफुले नै आत्मलोचना गरेको बताउँदै अबको सिजनमा किसानले मल पाइन भनेर गुनासो गर्नुपर्ने स्थिती नआउने बताउनुभयो ।
यस भन्दा अगाडीका कुनै पनि सरकारले किसानको माग बमोजिम मल आपूर्ती गर्न नसकेको बताउँदै आफुले पनि त्यो समस्या झेल्नुपरेको उहाँले बताउनुभयो । मलका विषयमा यस भन्दा अगाडीका मन्त्रीहरुले भन्दा आफुले राम्रो काम गरेको दाबी गर्दै सरकारले भनेजति अनुदान नदिदा मल अभाव भएको स्विकार्नुभयो ।
किसानहरुको चौतर्फी आलोचना पछि आफु यस विषयमा सजग रहेको भन्दै अर्थमन्त्रालयबाट बजेट निकासा गरेर मलको अभाव टार्ने बताउनुभयो । नेकपा जिल्ला अध्यक्ष झविलाल पोख्रेलले मलको अभावको विषयमा कृषि मन्त्रीको चर्को आलोचना गरेपछि जवाफ दिदै उहाँले यस विषयमा आफु अब चनाखो हुने बताउनुभयो । आफु चलाख हुन नसक्दा कपिलवस्तुका किसानले प्रयाप्त मल नपाएको बताउँदै अब आफु चलाख भएर काम गर्ने बताउनुभयो । अध्यक्ष पोख्रेलले जिल्लाको कृषि मन्त्री भएको हुनाले खनालले चलाखी अपनाएर भएपनि किसानलाई मल उपलब्ध गराउन आग्रह गर्दै चर्को आलोचना गर्नुभएको थियो ।
फरक प्रसंगमा बोल्दै कृषि मन्त्री खनालले अबको चुनावमा नेकपाले स्थानीय तह कब्जा गर्नुपर्ने बताउनुभयो । अझै केहि विग्रिएको छैन, सरकारले विस्तारै काम गर्दै छ, नेकपा सरकारको कार्यकाल भित्र घोषणा गरेका सबै काम पूरा भएरै छोड्छन, चुनावताका घोषणा गरेका अधिकांश योजनाको प्रधानमन्त्रीले शिलन्यास गरिसक्नुभएको छ त्यसैले मुलुकको विकास भएरै छोड्छ भन्दै कार्यकर्तालाई निरास नहुन आग्रह गर्दै स्थानीय तह कब्जा गर्ने गरी काम गर्न सुझाउनुभयो । उहाँले भन्नुभयो, “जो पार्टीबाट विचलित भएर पार्टी विरुद्ध लाग्छ उसले पछुतो मान्नुपर्छ । सरकारले राम्रो काम गर्दा गर्दै पनि प्रतिपक्ष कांग्रेसले सरकार विरुद्ध अनावश्यक रुपमा बकवास गरिरहेको छ ।”
नगर कमिटी अध्यक्ष शंकर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य गिरधारीलाल न्यौपाने, विमला घिमिरे, प्रदेश सदस्य कृष्ण प्रसाद पौडेल, प्रदेश सांसद विष्णु पन्थी, जिल्ला सचिव रामचन्द्र शाह लगायतले बोल्नुभएको थियो । नेतृ गंगा कुमारी भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन नगर कमिटी सचिव टेकेन्द्र क्षेत्रीले गर्नुभएको थियो ।
प्रतिक्रिया