१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

नेकपालाई चिनियाँ राष्ट्रपति सीका पाँच सन्देश



काठमाडौं ।
नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरुबीच भेटवार्ता भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपाका सचिवालय सदस्यहरुले सीसँग सामूहिक भेटवार्ता गरेका हुन् ।
भेटमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल सहभागी थिए । यस्तै नेकपा नेता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि भेटमा सहभागी थिए ।

स्रोतका अनुसार भेटमा राष्ट्रपति सीले मुख्यतः पाँच वटा विषयमा जोड दिएका छन् ।

पहिलोः नेपालले जुन राजनीतिक उपलब्धी र स्थायित्व हासिल गरेको छ र विकासको बाटोमा हिँड्न खोजेको छ, त्यसका लागि बधाई दिन्छु र चीन सधैं साथमा रहनेछ ।

दोस्रोः नेपाल र चीनको सम्बन्ध राम्रो छ । र, यसलाई अझ सुदृढ गर्दै लैजानुपर्छ । दुई पार्टी नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको सम्बन्ध पनि अझ सुमधुर बनाउनुपर्छ ।

तेस्रोः चिनियाँ कम्युनिस्ट पार्टीको अनुभवले भन्छ कि पार्टीमा स्वच्छता र सुशासन महत्वपूर्ण छ । यो भयो भने मात्र चिनियाँ कम्युनिस्ट पार्टी र सरकारको जनतासँग राम्रो सम्बन्ध रहन्छ ।

चौथोः अहिले हाम्रो धेरै प्रतिकुलता छ तर पनि हामी समाजवादको दिशामा नै अगाडि बढेका छौं । हामीले कम्युनिस्ट क्रान्तिको आधारमा मात्र सत्ता चलाइरहेका छैनौं । हामीले जनतालाई उपलब्धीहरु दिन नसकेको भए यो सम्भव थिएन ।
र, पाँचौंः नेपाल चीन सम्बन्धमा अनुकुलता मात्र छैन, प्रतिकुलताहरु पनि छन् । त्यसमा ध्यान दिनुपर्छ ।

 

प्रकाशित मिति : २६ आश्विन २०७६ आइतबार ००:००  १ : १६ बजे