काठमाडौं ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
नेपालको दुई दिने राजकीय भ्रमणमा शनिबार अपराह्न नेपाल आएका सी र देउवाबीच होटल सोल्टीमा भेटवार्ता भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्तापछि साँझ दुई नेताबीच वान टु वान वार्ता भएको हो ।
‘उहाँहरुबीच दुई पार्टी र दुई मुलुकको सम्बन्धबारे कुराकानी भयो,’ देउवा निकट स्रोतले भन्यो, ‘छिमेकी मुलुक हुनुको नाताले दुई मुलुकबीचको सम्बन्धलाई थप उचाई दिनुपर्नेमा उहाँहरुको जोड थियो ।’
कांग्रेस सभापति देउवाले बीपी कोइरालाका पालादेखि नै चिनियाँ कम्युनिस्ट पार्टी र चीनसँग कांग्रेसको सम्बन्ध सौहार्द रहँदै आएको उल्लेख गरेका छन् ।
चीनले नेपालको पूर्वाधार विकासमा गर्दै आएको सहयोगको प्रशंसा गर्दै पूर्वप्रधानमन्त्री देउवाले आर्थिक रुपमा विश्वकै उदयीमान मुलुक चीनबाट नेपालको विकासमा थप लगानीका लागि आग्रह गरेका थिए । साथै देउवाले एक चीन नीतिमा नेपाल र आफ्नो पार्टी प्रतिवद्ध रहेको र नेपालमा चीनविरुद्ध हुने कुनै पनि गतिविधि आफूहरुलाई स्वीकार्य नहुने धारणा राखेका छन् ।
चिनियाँ राष्ट्रपति सीले आइतबार बिहान सोल्टी होटलै नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया