काठमाडौँ ।
दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री केपी शर्मा ओली बाहेक अन्य दुई वरिष्ठ नेताहरुले एक्लाएक्लै भेट गर्ने भएका छन्।
शनिबार करिब पाँच बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने राष्ट्रपति सीसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले एक्लाएक्लै भेट गर्ने तयारी भएको छ ।
होटल सोल्टीमा रहने सीसँग दाहालले आइतबार बिहान साढे १० बजे करिब ४५ मिनेट भेट गर्ने कार्यक्रम तय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। नेता दाहाल र सीको सम्बन्ध राम्रो भएको चर्चा चलिरहेका बेला उनीहरुबीच एक्लाएक्लै हुन लागेको वार्तालाई महत्वका साथ हेरिएको छ ।
दाहालले यसअघि सीको भ्रमणको तयारीबारे बुझ्न आएका त्यहाँका विदेशमन्त्री वाङ यीसँग एक्लै भेटेर अमेरिकाले अघि सारेको ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ को समर्थनमा नरहेको विश्वास दिलाएपछि दाहाल विवादमा मुछिन पुगेका थिए।
यसपटक दाहाल र सीबीच कुन विषयमा कसरी कुरा हुन्छ भन्नेबारेलाई लिएर चासो बढेको छ।
यसअघि अध्यक्ष दाहालसँगै पार्टीका अन्य नेताहरुले पनि संयुक्तरुपमा सीलाई भेट्ने कार्यक्रम बनाएको बताइएको थियो।
त्यसअघि सीको पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल लगायत सचिवालय सदस्यहरुले संयुक्तरुपमा भेट गर्ने कार्यक्रम बनाइएको छ।
कांग्रेस सभापति देउवाले भने शनिबार साँझ सीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शितल निवासबाट फर्किएपछि उनलाई सात बजे भेट्ने कार्यक्रम तय भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्।
२५ आश्विन २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया