८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

तिलोत्तमाका सामुदायिक विद्यालयमा विद्यार्थी बढे



बुटवल ।

अधिकांश स्थानीय तहका सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या घट्दै गएको अवस्थामा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भने विद्यार्थी संख्या बढेको छ ।

नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम र वजेटमा शिक्षालाई पहिलो प्राथमिकतामा राखेर नौला र रचनात्मक कार्यक्रम ल्याएसंगै सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बृद्धि भएको हो ।

नगरपालिकाले नीति तथा कार्यक्रममा तीन वर्ष्भित्र सामुदायिक विद्यालयहरुलाई संस्थागत (निजी बोर्डिङ) विद्यालयसरहको गुणस्तरमा लैजाने लक्ष्य राखेर दिवा खाजा, विद्युतीय हाजिरी लगायतका विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

निःशुल्क दिवा खाजा, गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, विद्युतीय हाजिरी जस्ता कार्यक्रमले एक वर्षमा ८ सय ३९ जना विद्यार्थी बढेको नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव गंगाराम आचार्यले बताए । नगरभित्र ४४ वटा सामुदायिक विद्यालयमा गत वर्ष १२ हजार एक सय ५४ विद्यार्थी भर्ना भएकामा यो वर्ष १२ हजार ९ सय ९३ विद्यार्थी भर्ना भएका छन् ।

बाल विकास कक्षामा गत वर्ष १२ सय ६४ जना भर्ना भएकामा यस वर्ष १८ सय ७७ जना भर्ना भएका छन्  दिवा खाजाका लागि नगरपालिकाले वार्षिक डेढ करोड वजेट छुट्याएको छ । शिक्षा क्षेत्रमा नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुनेबाहेक आन्तरिक स्रोतबाट मात्रै करिब ६ करोड रुपैयाँ बजेट छुट्टाएको छ ।

जनप्रतिनिधि र शिक्षकहरुले पनि आफ्ना छोराछोरी सामुदायिक विद्यालयहरुमा भर्ना गराएका छन् । वडा नं. ४ का वडा अध्यक्ष दिवाकर ढकालले आफ्ना दुई छोराछोरीलाई निजी विद्यालयबाट छुटाएर जनज्योति मावि डिंगरनगरमा भर्ना गराएका छन् ।

जनज्योतिमा गत वर्ष भन्दा एक सय नयाँ विद्यार्थी थपिएको प्रधानाध्यापक रघुनाथ पोखरेलले बताए । तिलोत्तमा–११, शिवपुरस्थित शिवपुर माविमा यो वर्ष दुई सय पचास नयाँ विद्यार्थी थपिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर भट्टराईले जानकारी दिए ।

नगरका ४४ वटा सामुदायिक विद्यालयका बालविकास केन्द्रलाई चालु शैक्षिक सत्रदेखि नयाँ व्यवस्थापन गरेपछि बालबालिकाको भर्ना दर बढेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए । अहिले बालविकास केन्द्रका कक्षा कोठामा ३२ इन्चको एलइडी टिभीसहित आरामदायी ठाउँमा बालबालिकालाई राखेर सिकाइन्छ ।

नगरपालिकाले प्रति बालविकास केन्द्रमा २ लाख रुपैयाँका दरले लगानी गरेको छ । बाल विकास कक्षामा पढाउने शिक्षकलाई संघीय सरकारले दिने मासिक ६ हजार तलबमा नगरपालिकाले मासिक तीन हजार रुपैयाँ थपेर दिने गरेको छ । यसले पनि बालविकास कक्षामा विद्यार्थीको आकर्षण बढाएको छ ।

नगरपालिकाले सामुदायिक विद्यालयहरुमा विद्युतीय हाजिरी अनिवार्य गरेको छ । यसले शिक्षकहरुलाई नियमित रुपमा कक्षा लिन वाध्य बनाएको छ ।  नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले आफ्नो पाँच वर्षकै तलब नगरभित्रका सबै सामुदायिक विद्यालयका एक–एक जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिस्वरुप दिने गरेका छन् ।

घिमिरेले पहिलो वर्ष नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ४४ विद्यार्थीलाई एक वर्षको पारिश्रमिक बराबर तीन लाख ८५ हजार रुपैयाँ वितरण गरेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७६ शुक्रबार ००:००  ७ : ३८ बजे