काठमाडौं ।
नेपाल ओमानमा सम्पन्न पाँच देश सहभागी टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा तेस्रो भएको छ। अन्तिम खेलमा नेपाल बिहीबार ओमानसँग ६ विकेटले पराजित भयो। टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपाल ११ ओभरमा ६४ रनमा सिमित भयो।
ओमानले ११ ओभर पाँच बलमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। २७ रनमा चार विकेट गुमाएको ओमानका लागि सुरज कुमार एक्लैले ३० बलमा ४२ रन जोडे।
त्यसअघि नेपालका दुई जना ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन जोड्न सके। आरिफ शेखले २० र दीपेन्द्र सिंह एेरीले ११ रन बनाए। ओमानको आमिर कलिम एक्लैले पाँच विकेट लिए। उनले चार ओभरमा १५ रनमात्र दिए।
नेपालका इशान पान्डे २, पारस खड्का ५ र विनोद भन्डारीले ४ रन बनाए भने सन्दीप जोराले खाता खोल्न सकेनन्। २ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले दोस्रो विकेटका रुपमा पारसलाई गुमाउँदा २६ रन जोडेको थियो। ४१ रनमा २ विकेटको स्थितीमा रहेको नेपाल ४६-६ मा पुग्यो। तल्लोक्रमका सोमपाल कामीले ८, करन केसीले ८ र सन्दीप लामिछानेले दुई रन बनाए।
बिलाल खानले नेपालका दुवै ओपनरलाई आउट गरेका थिए। बिलालले २ ओभरमा १४ रन खर्चिए। नेपाली पालीमा सात चौका र एक छक्का सामेल रह्यो।
प्रतियोगितमा ओमानले ४ खेलबाट ८ अंक जोडेर विजेता बन्यो। नेपालले तीन खेलबाट चार अंक जोड्यो। चार खेलबाट ६ अंक भएको आयरल्यान्ड दोस्रो भयो।
ओमानले टेस्ट मान्यताप्राप्त आयरल्यान्डसहित नेदरल्यान्ड्स र हङकङलाई पनि हराएको थियो। सुरुका दुई खेलमा हङकङ र नेदरल्यान्ड्सलाई हराएको नेपाल तेस्रो खेलमा आयरल्यान्डसँग पराजित भएको थियो।
२३ आश्विन २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया