मायादेवी अनलाइन, वाणगंगा ।
जनसंख्याको हिसाबले कपिलवस्तुको दोस्रो समुदायका रुपमा रहेका थारु जातिमा दशैको चहलपहल बढ्दो छ । यति वेला दशैंको रौनक अन्य समुदायमा बढेसंगै कपिलबस्तुृका थारु समुदायमा पनि दशैको रौनकता बढेको हो । विशेषगरी जिल्लाको थारु बाहुल्यता क्षेत्र गजेहडा, बभनी पटना, कोपवा, भलवाड, बुड्ढी, हरिहरपुर, बरकुलपुर, शिवपुर लगायतका क्षेत्रमा दशै मनाइएको छ ।
षष्ठीको दिन थारु समुदायका घरमा भएका फोहार चिज बाहिर फाल्ने, घरमा भएका माकुराका जालोहरु फाल्ने जसलाई झोलझराई भन्ने गरिन्छ । त्यसैगरी सप्तमीको दिन अन्य समुदायले फुलपाती भित्राउँछन भने थारु समुदायले त्यो दिन फुलपाति भित्राउदैनन् । उक्त दिन घर लिपपोत गर्ने, कुल देवतालाई पिना खलिले नुहाउने त्यसैगरि ढिक्रि बनाउने सामाग्री पईन सुप्पा लगाए सफा गरि घाममा सुकाइने गरिन्छ जसलाई उक्त दिन घरपोताई भन्ने गरिन्छ ।
त्यस्तै अष्टमीको दिन नयाँ चामलको पिठाबाट विहानै ढिक्रि बनाउँने र साझ सुर्यास्त भएपछि मात्र कुलदेवतालाई चढाउने गरिन्छ । ढिकरी सगै जमरा, बेबुरी र डवना पनि कुल देवतालाई फुलस्वरुप चढाउने गरिन्छ । अष्टमीकै दिन घिरिम्ला, कुभिन्डो लगायतको भेडा बनाई चढाउने र कालरात्रिमा त्यसैको बलि दिने गरिन्छ भने कसैले भाले कुखुराको पनि बलि दिने गर्दछन् ।
नवमीको दिन भने दिनभरि खान पनि गर्ने र साँझपख कुललाई चढाइएका फुलपाती र पितृ नजिकैको नदि ताल तलाउमा गई विर्सजन गरिन्छ । दशमीको दिन विहानै देखि आफु भन्दा ठुलाको हातबाट टिका र आर्शिबाद लिने चलन पनि थारु समुदायमा रहेको छ । त्यही दिन गाउं मुखिया बडघरलाई गाउँका सबै जनाले टिका जमरा लगाई दिने साथै सबै जनाले आ आफ्नो गच्छ अनुसारको रक्सी लैजाने प्रचलन रहेको छ । उक्त दिन दिनभरि बडघरको घरमा खानपनि सगै नाचगान गरि रमाईलो गर्ने प्रचलन रहेको छ । त्यसो त पहिले पहिले थारु समुदायमा दशैमा झुमरा नाच नाचेपनि पछिल्लो समय भने त्यस्ता नाच विरलै गाउँमा देख्न सकिन्छ । नाच सामूहिक रुपमा प्रस्तुत गरिने भएकाले समाजमा सामूहिक भावनाको विकास गराउने र गाउँका बासिन्दा बीचको मनमुटाव र झगडा हटाई मेलमिलाप बढाउने विश्वास पनि रहि आएको छ । धार्मिक मान्यता अनुरुप नाचको आयोजना गरेमा गाउँमा अन्नबाली बढी फल्ने, रोगब्याधी हट्ने र वर्षभरिका लागि अन्न खानपुग्ने विश्वास रहेको थारु संस्कृती संरक्षण समिती कपिलबस्तुका द्धारिका प्रसाद थारुले बताउनुहुन्छ । पौराणिक धार्मिक मुल्य मान्यता बोकेको झुमरा गीत, नाच संरक्षण प्रति थारुयुवाको भने त्यती रुचि रहेको पाइदैन । हराउँदै गएको संस्कृति जोगाउन युवा पिँढी अगाडि सरे मात्र पहिचान जोगाउन सकिने छ ।
२२ आश्विन २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया