२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

खेलाडीको सूची दिनुहोस्, नगरपालिकाले बन्द प्रशिक्षण दिन्छः उप-मेयर अर्याल



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाका उप–मेयर चक्र अर्यालले उत्कृष्ट खेलाडीको सुची नगरपालिकामा उपलब्ध गराउन आग्रह गर्नुभएको छ । पछिल्लो समय बाणगंगा नगरपालिकामा धेरै प्रतिभावान खेलाडीहरु भएको आफूहरुले पाएको बताउँदै तुरुन्त ती खेलाडीहरुको नामावली नगरपालिकामा उपलब्ध गराउन आग्रह गर्नुभएको हो ।
मुहान युवा क्लव बाणगंगा–४ झुँगाले राजापानीमा आयोजना गरेको जिल्लास्तरीय फुटवलको समापन समारोहलाई सम्बोधन गर्दै उप–मेयर अर्यालले अब खेलाडीहरु एकोहोरो खेलेर मात्र अगाडी जान नसक्ने बताउँदै त्यसको लागि तालिम आवश्यक भएको बताउनु भयो । नगरमा हरेक विधाका प्रतिभावान प्रशस्त खेलाडी भए पनि उचित तालिमको अभावमा उनीहरु अगाडी बढ्न नसकेकाले अब यसमा नगरपालिकाले पहल गर्ने उहाँले बताउनु भयो ।
बाणगंगा नगरका दुई खेलाडी रोशन सेन, सञ्जु सेनको उदाहरण दिँदै उहाँले भन्नुभयो– “यिनीहरु विना तालिम पनि राष्ट्रियस्तरमा पुगेर जिल्लाको नाम उचो बनाउन सफल भएका छन् । बाणगंगा नगरको शिर उचो भएको छ । अझै तालिम संचालन गर्न सकेको भए उनीहरु थप माथि पुग्न सक्थे ।”
उप-मेयर अर्यालले अनुशासनपूर्वक खेलिने खेलकुदबाट भविष्यमा राम्रो सम्भावना रहेको भन्दै यसलाई ब्यावसायिक बनाउन जरुरी रहेको बताउनु भयो । पछिल्लो समय बाणगंगा नगर खेलकुदको हब बन्दै गएकाले यसको विकासमा नगर कटिवद्ध रहेको बताउनुभयो ।


कार्यक्रममा विशिष्ट अतिथि बाणगंगा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष गणेश क्षत्रीले मुहान क्लवले जिल्लामा फुटवल खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिएको भन्दै यसको लागि आफूहरुले सहयोग गर्ने बताउनु भयो । खेल स्वास्थ्य र राष्ट्रको लागि अति महत्वपूर्ण भएकाले यसलाई अब ब्यावसायिक बनाउनु पर्ने आवश्यकता औँल्याउनु भयो ।
राजापानी सामुदायिक बनका अध्यक्ष ढाकाराम अधिकारीले मुहानले राजापानीमा गर्ने फुटवल प्रतियोगीता जिल्लाकै नमुना प्रतियोगिता भएकाले आगामी दिनमा निरन्तरताको कामना गर्नुभयो । उहाँले खेलकुदको विकासको लागि नै भनेर राजापानी सामुदायिक वनले प्रतियोगीतामा पहिलो पुरस्कार स्वरुप ६० हजार सहयोग गरेको बताउनु भयो ।
सोही अवसरमै संस्थालाई सहयोग गर्ने बिभिन्न संघ संस्थालाई पनि सम्मान गरिएको थियो । क्लवका अध्यक्ष रबिन्द्र प्रताप सेनको अध्यक्षतामा सम्पन्न समापन समारोहको संचालन रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपानेले गर्नुभएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७६ सोमबार ००:००  ८ : ०५ बजे