८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

चाडपर्व दीन दुखिहरुलाई साथमा लिएर मनाउनुपर्छः सांसद कमाल



मायादेवी अनलाइन, बाणगंगा ।
संघीय सांसद अत्तहर कमालले दीन दुखिहरुलाई साथमा लिएर चाडपर्व मनाउनु पर्ने बताउनु भएको छ । नेपाल शिक्षक संघ बाणगंगा नगर कार्य समितिले शुक्रबार आयोजना गरेको नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सांसद कमालले चाडपर्वहरु भड्कीलो नबनाएर दुखमा परेकाहरुसंग मनाउदा समाजमा राम्रो सन्देश जाने बताउनु भयो ।
पछिल्लो समय भड्किलो र खर्चिलो तरिकाले चाडपर्व मनाउने प्रचलन बढेको भन्दै उहाँले साधारण तरिकाले यसबर्षका चाडपर्व मनाउन नागरिकलाई सुझाउनु भयो । नेपाली कांग्रेशका केन्द्रिय सदस्य समेत रहनु भएका कमालले वर्तामान सरकारले गरिब जनताहरुलाई केही दिन नसकेको बताउँदै बाल विकास केन्द्रका शिक्षिका, कार्यालय सहयोगी र विद्यालय सहयोगीको सेवा सुविधा वृद्धि गर्न सरकारलाई आग्रह गर्नुभयो ।
विशिष्ट अतिथि बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले पनि दशैँलाई सरल तरिकाले मनाउन नगरबासीलाई आग्रह गर्नुभयो । उहाँले अब नगरले गर्ने छैठौँ नगरसभामा बाल विकास शिक्षिका, विद्यालय र कार्यालय सहयोगीको सेवा सुविधा बढाउने गरी आफूले पहल गर्ने बताउनु भयो । बाणगंगा १ वैरियामा रहेको जेसिज भवनमा भएको कार्यक्रममा आजै बिभिन्न तहमा स्थायी भएका नवप्रवेशी शिक्षकहरुलाई सम्मान गरिएको छ ।
यस्तै कक्षाकोठा ब्यवस्थापन शीर्षकमा नेपाल शिक्षक संघ प्रदेश नम्बर ५ का उपमहासचिव सिर्जना पण्डित, शिक्षा र शान्ति शीर्षकमा झण्डा माविकी प्रधानाध्यापक कृष्ण टण्डन र असल शिक्षकका विषयमा होराइजन माविका प्राचार्य बासुदेव घिमिरेले अभिमुखीकरण गर्नुभएको थियो ।
नेपाल शिक्षक संघका अध्यक्ष कुलराज पौडेलको अध्यक्षता, उपाध्यक्ष चन्द्रकान्त पोख्रेलको स्वागत र सचिव रामप्रसाद भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा काग्रेश बाणगंगा नगर कार्यसमितिका कार्यबाहक सभापति विष्णु थापा, जेसिज उपाध्यक्ष गुरुदेव पौडेल लगायतले शुभकामना दिनुभएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७६ शनिबार ००:००  ६ : १० बजे