८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

माउण्ट एभरेष्टको २१ औं बार्षिक साधारणसभा



मायादेवी अनलाइन, वाणगंगा ।
यस क्षेत्रको पुरानो मध्येको एक माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २१ औं बार्षिक साधारणसभा गरेको छ । वाणगंगा नगरपालिका वडा नं. ६ बैदौलीमा अवस्थित सहकारीले २१ औं साधारणसभा गरेको हो । यस क्षेत्रका प्रदेश सांसद विष्णु पन्थीले साधारणसभाको एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै सांसद पन्थीले सहकारी समृद्धिका सारथी भएकोमा जोड दिनुभयो । राज्यले सहकारीलाई विकासको प्रमुख मेरुदण्डको एक स्रोत मानेकोले सहकारीहरु राज्यको अधिनमा रहेर चल्नुपर्नेमा जोड दिनुभयो । साना साना पूँजीलाई सहकारीले संकलन गरेर समुदायमा लगानी गर्ने हुँदा सहकारीको माग बढीरहेको बताउनुभयो ।

सहकारीका अध्यक्ष युवराज पोख्रेलले सानो पूँजीबाट सुरु भएको सहकारी आज करोडौंमा पुगेको भन्दै सबैको साथले सफलता मिलेको बताउनुभयो । सहकारीले गाउँमा उद्यमशिलता बन्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको अध्यक्ष पोख्रेलले सुनाउनुभयो । उहाँले भावी योजना साधारणसभामा प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष पोख्रेलले सभामा प्रस्तुत गर्नुभएको आ.व. २०७६÷०७७ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको थियो ।

यस्तै साधारण सभामा सचिव रुमलाल पोख्रेलले वार्षिक प्रगती प्रतिवेदन, कोषाध्यक्ष लेखनाथ भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदन सर्वसम्मतले पारित भएको संस्थाका ब्यवस्थापक रविलाल भट्टराईले जानकारी दिनुभयो ।

साधारण सभामा जेष्ठ नागरिक, असल ऋृणी, असल बचत कर्ता, सफल उद्यमीलाई प्रंशसा पत्र र दोसल्लाहले सम्मान गरिएको थियो । त्यस्तै सभामा एसईई २०७५ मा छात्रा तर्फ जिल्ला प्रथम हुने कपिलवस्तु ज्ञान ज्योती शिक्षा सदनका नविना पौडेल र उत्कृष्ट अंक ल्याउने छात्र विशाल खनाललाई दोसल्लाह ओढाएर सम्मान गरिएको थियो ।

साधारण सभामा जिसस कपिलवस्तुकी उपप्रमुख तारावती थारु, सामुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष हुमनाथ भट्टराई, बाणगंगा नगरपालिकाका वडा नं. ६ का वडा अध्यक्ष सुकदेव थारु, लक्ष्मण बेल्बासे लगायतले मन्तब्य राख्नु भएको थियो ।

कूल ३ हजार ३ सय ४२ जना शेयर सदस्य रहेको यस सहकारीले १ करोड २९ लाख ६ हजार शेयर रकम रहेको छ । त्यस्तै सहकारीले १२ करोड ६७ लाख २५ हजार ३ सय ५३ निक्षेप संकलन गर्नुका साथै ११ करोड २९ लाख ३६ हजार ६ सय ८ रुपैया कर्जा लगानी गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६ शुक्रबार ००:००  ७ : २२ बजे