मायादेवी अनलाइन, वाणगंगा ।
लुम्बिनीको विकास र यसको प्रचार–प्रसारका लागि सबै एकजुट हुनुपर्ने प्रदेश ५ का वन वातावरण तथा पर्यटन मन्त्री लिला गिरीले बताउनुभएको छ । विश्व अहिंशा दिवस तथा लुम्बिनी भ्रमण वर्षको सन्दर्भमा वाणगंगाको बुङ्चीमा आयोजित सेमिनारमा बोल्दै मन्त्री गिरीले सबै एकजुट भएर लागेमा लुम्बिनीको प्रर्वद्धन हुने बताउनुभयो ।
लुम्बिनी लगाएतका बौद्ध तथा पर्यटकिय क्षेत्रको विकासका लागि योजनाबद्ध कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री गिरीले लुम्बिनीको विश्व सामु प्रचार–प्रसारका लागि यस्ता कार्यक्रमले टेवा पुग्ने भन्दै निरन्तरता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सांसद विष्णु पन्थीले कपिलवस्तु र लुम्बिनीलाई शान्तीको भूमिका रुपमा विश्वभर परिचित गराउनु पर्ने बताउनुभयो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले शान्ति शिक्षा पर्यटन प्रर्वद्धनमा जोड दिनुभएको थियो ।
कार्यक्रममा लुम्बिनी बौद्ध विश्व विद्यालयका उपप्रध्यापक तथा पूर्व क्याम्पस प्रमुख इन्द्र प्रसाद काफ्लेले वातावरण शान्ति सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने बौद्ध अभियान्ता चर्तुभुज पाण्डेले शान्तीका लागि मध्यम मार्ग सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो ।
यसैगरी मानवअधिकारकर्मी पोमनारायण पौडेलले शान्ति मानव अधिकार पर्यटन प्रर्बद्धन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा लुम्बिनी बौद्ध विश्व विद्यालयका सहायक प्रध्यापक डा. दिपक प्रसाद आचार्यले शान्ति पर्यटन प्रर्बद्धन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी सिद्धार्थ क्याम्पसका प्रध्यापक गोविन्द प्रसाद खनालले शैक्षिक क्षेत्रमा शान्ति शिक्षाको आवश्यक्ताबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पाँचै जनाले प्रस्तुत गर्नुभएको कार्यपत्रमा प्रध्यापक आनन्द शर्मा र डम्मर शर्माले टिप्पणी गर्दै सुझाव दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै सिद्धार्थ क्याम्पस सञ्चालक समिती अध्यक्ष झबिलाल पोख्रेलले शान्ति, अहिंशा लाई पाठ्यक्रममा समावेश गर्दै ब्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा संस्थापक अध्यक्ष कृष्ण पौडेल, प्रध्यापकहरु लगाएत गरी १ सय जनाको सहभागिता रहेको थियो ।
क्याम्पस प्रमुख खेमराज शर्माको स्वागतमा भएको कार्यक्रमको सञ्चालन अनुसन्धान तथा प्रकाशन एकाइ संयोजक गोविन्द प्रसाद पोख्रेलले गर्नुभएको हो ।
१५ आश्विन २०७६ बुधबार ००:००
4
Shares
प्रतिक्रिया