मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा ३ को राजापानीमा जारी जिल्लास्तरीय मुहान कप फुटवलमा शुक्रबार २ खेल सम्पन्न भएका छन् । राजापानी खेल मैदानमा जारी प्रतियोगितामा अपरान्ह १ बजे भएको पहिलो खेलमा बनकट्टी युवा क्लव विजयी भएको छ । बनकट्टीले नव प्रभात युथ क्लव ठाकुरापुरलाई २–१ गोल अन्तरले पराजित गर्न सफल भयो । प्रतिस्पर्धात्मक खेलमा हार भोगेपछि नवप्रभात बाहिरिएको छ भने बनकट्टी अर्को चरणा प्रवेश गरेको छ ।
प्रतियोगीता अन्तर्गत शुक्रबार नै भएको दोश्रो खेलमा आयोजक मुहान ए ले सानदार जित निकालेको छ । प्रतियोगिताकै उपाधि दावेदार मानिएको मुहानले सगरमाथा युवा क्लव झण्डाको पोष्टमा आधा दर्जन गोलको बर्षा गर्यो । खेल अवधिभर सगरमाथामाथि हावी देखिएको मुहानको जितमा जर्सी नम्बर १० का सञ्जु सेनले ५ गोल गरे । खेलको पहिलो हाफमै ह्याट्रिक गरेका सञ्जुले त्यसपछिको समयमा थप २ गोल गरे । अर्को एक गोल जर्सी नम्बर ८ का रमेश चौधरीले गरेका थिए । सगरमाथाको तर्फबाट एक मात्र सान्तवना गोल जर्सी नम्बर ९ का विजय मल्लले गरे । ‘म्यान अफ दि म्याच’ सञ्जुलाई रेडियो मायादेवीका स्टेसन म्यानेजर तथा मायादेवी अनलाइनका प्रधान सम्पादक चन्द्रकान्त न्यौपानेले ट्रपी प्रदान गर्नुभएको थियो । सञ्जुले १९ बर्षको मुनिको प्रतियोगितामा नेपाल पुलिस क्लवबाट राष्ट्रिय खेल खेलिसकेका छन् ।
प्रतियोगीता अन्तरगत शनिबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो १ बजे मुहान जुनियर र बोडगाउँ युथ क्लव (विवाईसी) भीँड्ने छन् । यस्तै दोस्रो खेलमा दिउँसो ३ बजे लव नेपाल पिपराले बनकट्टी युवा क्लबको सामना गर्ने खेल संयोजक अर्बिन मल्लले जानकारी दिनुभयो । बर्षाका बाबजुत पनि खेल मैदानमा दर्शकको उपस्थिति घटेको छैन । यही असोज १८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ६० हजार शिल्ड,मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेता टिमले ३५ हजार,शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । विधागत तर्फ पनि खेलाडीले पुरस्कार पाउने छन् ।
१० आश्विन २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया