नयाँ दिल्ली ।
रोजगारीको सिलसिलामा भारत आएका एक नेपाली युवकको मृत्यु भएको छ । हरियाणा राज्यको फरिदाबादको एक होटलमा काम गर्दै आएका १९ वर्षीय विवश कुँबरको मृत्यु भएको हो । कुँवर अर्घाखाँची मालारानी गाविस-५ बाँगी भंडार गैरा निवासी थिए ।
फरिदाबादमा मामासँगै बस्दै आएका विवशलाई एक सातादेखि सामान्य ज्वरो आएको थियो । बुधबार साँझ घरकै छतमा निस्केको बेला रिंगटा लागेर उनी बेहोस भएका थिए । तत्काल उपचारका लागि स्थानीय मेट्रो अस्पताल र्पुयाइएको भएपनि चिकित्सकले मृत्यु घोषणा गरेका हुन् ।
उनी दुई वर्ष काम गरेर यसअघि नेपाल फर्केका थिए।उनका मामा पनि त्यही होटलमा २० वर्षदेखि कुकको काम गर्दै आएका छन् । काम र पढाइ सँगसँगै गर्ने भनेर नेपाल फर्किएका विवश भनेजस्तो काम नपाएपछि दुई साताअघि मात्र भारत आएका थिए ।
आवश्यक प्रक्रिया र्पुयाएर उनको शव परिवारको जिम्मा लगाएको अखिल भारत नेपाली एकता मंचका आरबी खडकाले जानकारी दिए । खड्काका अनुसार अर्घाखाँचीको मालारानी गाविस निवासी कुँवरका परिवारले शव लिएर फर्किसकेका छन्।
विवशको बुवा इन्द्रबहादुर कुँवरको पनि निधन भइसकेको छ। आमा सरिता कुँवर गाउँमै बस्दै आएकी छन् । मृतकको परिवारलाई होटल संचालकले नेपालसम्म लैजाने एम्बुलेन्सलगायत क्रिया खर्च दिने बताएको छ। मृतक विवशकी आमालाई आजीवन ३ हजार भारतीय रुपैयाँ मासिक खर्च उनका मामामार्फत दिने गरी कागजी सहमति गरेको खडकाले जानकारी दिए ।
प्रतिक्रिया