१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

पत्रकार आत्महत्या प्रकरण : तेस्रोपटक सारियो पेसी



चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाको पेसी उच्च अदालत पाटनको हेटौँडा इजलासमा तेस्रोपटक सारिएको छ । मुद्दाकी एक अभियुक्त अस्मिता कार्की रुकुका अधिवक्ता रामकृष्ण देउवाको आग्रहमा अदालतले पेसी सारेको हो ।

पहिलो र दोस्रोपटक अभियुक्त रवि लामिछाने र युवराज कँडेलतर्फका अधिवक्ता सुशीलराज पन्त उपस्थित हुन नसक्दा सारिएको थियो । पछिल्लोपटक ९ असोजका लागि पेसी तोकिएको थियो । चितवन जिल्ला अदालतको फैसलाको पुनरावेदनका लागि जिल्ला सरकारी वकिल कार्यालयको निवेदनअनुसार उच्च अदालत सरकारी वकिल कार्यालय हेटौँडाले २३ भदौमा उच्च अदालतमा निवेदन दिएको थियो ।

जिल्ला अदालतको आदेशअनुसार लामिछाने र कँडेल क्रमशः पाँच लाख र तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् भने कार्की साधारण तारेखमा रिहा भएकी हुन् । तर, सरकारी वकिलको कार्यालयले तीनैजनालाई थुनामा राखेर पुर्पक्ष गर्न माग गर्दै निवेदन दर्ता गराएको हो । सरकारी वकिल कार्यालयको निवेदनअनुसार कार्कीले छुट्टै अधिवक्ता राखेर मुद्दा प्रक्रिया अघि बढाएकी हुन् ।यो खबर नयाँ पत्रिकाबाट लिएका हौँ ।

न्यायाधीश चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले पेसी सार्ने निर्णय गरेको सूचना अधिकारी अमृत घिमिरेले जानकारी दिए ।सूचना अधिकारी घिमिरेका अनुसार आइतबारबाट दसैँ बिदापछि २७ असोजमा अदालत खुल्ने हुनाले ३० असोजका लागि पेसी तोक्ने सम्भावना छ । १७ भदौमा रवि र युवराजले हेटौँडा इजलासमा संयुक्त निवेदन दर्ता गर्दै चितवन जिल्ला अदालतको आदेश बदर गर्न माग गरेका थिए ।

रवि र युवराजको निवेदनउपर १८ भदौमा अदालतले पहिलो पेसीमा कैफियत प्रतिवेदन र सबै मिसिल झिकाउने आदेश गरेको सूचना अधिकारी घिमिरेले जानकारी दिए । सरकारी वकिल कार्यालयको निवेदनअनुसार २६ भदौ र २ असोजमा तोकिएको दोस्रो र तेस्रो पेसीमा रवि र युवराजतर्फका अधिवक्ता उपस्थित नभएपछि सारिएको थियो ।

बिहीबारको पेसीका लागि रवि र युवराजसहित अधिवक्ता पन्त अदालतमा उपस्थित भएका थिए । रवि, युवराज र सरकारी वकिल कार्यालयले छुट्टाछुट्टै निवेदन दर्ता गरेर फरक विषय माग गरे पनि एकैपटक मुद्दा प्रक्रिया अघि बढाइने अदालतले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७६ शुक्रबार ००:००  ७ : ४९ बजे