मायादेवी अनलाइन, तौलिहवा ।
बिगत लामो समय देखि कपिलवस्तुमा मलको हाहाकार छ । जिल्ला कै प्रमुख बालिकारुपमा रहेको धान खेतीका लागि युरिया र डिएपी मल नपाएर कृषकहरु छटपटाई रहेका छन् । सप्रीरहेको धान खेतका लागि युरिया मल आवश्यक पर्ने कृषि प्राबिधिकहरु बताउँछन । सरकारले माग अनुसारको मलको आपूर्ति गर्न सकेको छैन् । माग धैरै भएपनि अत्यन्तै न्युन मात्रामा जिल्लामा मल पठाईने गरिएको छ ।
सरकारी अनुदानमा आएको त्यो मलमा पनि कृषि सहकारीको रजाई हुने गरेको छ । जिल्लाका तौलिहवा र बहादुरगंजमा रहेको कृषि सामग्री लिमिटेड र कृष्णनगर स्थित साल्ट ट्रेडिङ मार्फत कृषि सहकारीलाई मल उपलब्ध गराउने गरिएको छ । कृषि सामग्री लिमिटेडका अनुसार जिल्लाभर साढे ३ सय बढी कृषि सहकारी छन् । तिनीहरुलाई ३ स्थानबाट पालौपालो मल उपलब्ध गराउने गरिएको कम्पनी तौलिहवा शाखाका प्रमुख दिनेश शर्माले बताए ।
आफ्नो कार्यक्षेत्रमा बिक्री बितरणको डिलरसिप लिएका कृषि सहकारीहरुले नै सहुलियतको मल दुरुपयोग गरेको भेटिएको हो । सहकारीले आफ्नो कार्यक्षेत्र र सदस्यहरुलाई बाहेक अरुलाई मल बिक्री गर्न नपाउने नियम छ । तर जिल्लाका अधिकांश कृषि सहकारीले सहकारी अनुशासन बिपरित सहुलियत मलको कालोबजारी गर्ने गरेको कृषकहरु बताउँछन् ।
तौलिहवाका कृषक राकेश यादवले कृषि सहकारीले कृषकहरुका लागि आएको मलको कालोबजारी गर्ने गरेको आरोप लगाए । ‘सहकारीले हामीलाई मल दिदैन्, तोकिए भन्दा बढी पैसा दिनेलाई बेच्ने गरेको छ’ निराश हुँदै उनले भने ‘बर्षौ देखि यस्तो कारोवार गर्दै आएका सहकारीलाई कसैले कारबाही गर्दैन्’ । सहकारीका अध्यक्षले नै मललाई मनपरी ढंगले राख्ने गरेको यशोधरा गाउँपालिकाका अर्का कृषक बिनोद चौधरीले बताए । ‘सहकारीको अध्यक्षको कब्जामा मल हुन्छ, आफुलाई चाहिए जति राख्ने अनि बचेको मन परको ब्यक्तिलाई बढी रकम लिएर बेच्ने गरेका छन्’ उनले भने । सहकारीलाई दिईएको मल कले पायो, के गरियो लगायतका बिषयका कसैले सोधखोज नगरेकाले मलमा सहकारी कै अध्यक्षको रजाई हुँदै आएको उनी बताउँछन ।
जिल्लामा कृषकहरुका लागि आउने रासायनिक मलको दुरुपयोग हुने गरेको पाईएको छ । जिल्ला कृषि समितिले ८ बर्ष अघि देखि कृषि सहकारी मार्फत सहुलियत मलको बिक्रि गर्ने निर्णय गरेको थियो । त्यस अघि कृषि सामग्री कम्पनी मार्फत डिलर र कृषकहरुलाई बिक्री गर्ने गरिन्थ्यो । आफ्नो सदस्यहरुलाई मात्र बिक्री गर्न लगिएका मल कृषि सहकारीहरुले भने मलका ब्यापारी, बढी रकम दिने कृषक, प्लाई उड उद्योगलाई बेच्ने गरिएको कृषकहरु बताउँछन् ।
सहुलियत मलको कारोवारका लागि डिलरसिपको अनुमति लिएका आधा बढी सहकारीले मलको दुरुपयोग गरी बेच्ने गरेको स्रोतको भनाई छ । कृषि सामग्री तौलिहवाका प्रमुख दिनेश शर्माले आफुहरुले सहकारीको सदस्यको नामावली, निर्णय लगायतका बिवरण सहीत आबेदन माग गरे पछि पालैपालो मल उपलब्ध गराउने गरिएको बताए । ‘हामीले पालै पालो सहकारीलाई मल दिएका छौ, त्यसको सहकारीले कसरी बाडफाँड गरेको छ त्यस बारे जानकारी छैन् । प्रमुख शर्मा अनुसार अहिले युरिया १ सय ७० मेट्रिक टन र डिएपी २ सय मेटिक टन आएको छ ।
सहकारी मलको दुरुपयोग रोक्न प्रहरी प्रशासनले कडाई गर्नु पर्ने सहकारीकर्मी पुष्पा रेग्मीले माग गरिन । ‘कृषकका लागि आएको सहुलियतको मल दुरुपोग गर्ने माथी कारबाही गर्नु पर्छ’ उनले भनिन् । प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले सहुलियतको मलको दुरुपयोग गरी बेच्ने सहकारीहरु माथी निगरानी बढाउने बताए ।
‘अब कृषि सहकारीमाथी निग्रानी बढाउँछौ, संलग्नता भेटिए कारवाही गछौ’ उनले भनिन । जिल्लामा ७२ हजार हेक्टरमा धान गरिएको धान खेतीका लागि १५ हजार बढी मेट्रिक टन युरिया र ८ हजार बढी डीएपी मल आवश्यक पर्छ ।
८ आश्विन २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया