९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वाणगंगा नदी ढाक्यो ‘काँस फूलैले’, बुढापाका भन्छन्, बर्खामा यस्तो कहिल्यै हुन्थेन !



मायादेवी अनलाइन, वाणगंगा ।
मौसममा देखिएको प्रतिकूलता प्रति विश्व नै तनावमा छ । विश्वका धनि राष्ट्रहरुले मौसम प्रतिकूलता प्रति गहिरो चिन्ता व्यक्त गरिरहेका छन् । यसो हुनुको कारण खोजिरहेका छन् । तर, हाम्रो जस्तो अल्पविकसित मुलुकमा यस प्रति खासै चिन्ता त छैन्, यद्यपि बुढापाका भने विगतका कुरा सम्झेर अहिलेको परिस्थितीको चर्चा गर्ने गरेका छन् ।
यस बर्ष कपिलवस्तु, अर्घाखाँची लगायतका जिल्लामा कम पानी परेको छ । यस बर्षको बर्खामा कति पानी पर्यो ठ्याक्कै भन्न सकिने अवस्था नरहेपनि विगतको भन्दा कम पानी परेको अनूभुति चाहि भएको छ । यसको ज्वलन्त उदाहरणका रुपमा कपिलवस्तुमा रहेका नदी, खोलाहरुलाई लिन सकिन्छ ।
गत बर्षहरुमा कपिलवस्तुमा रहेका वाणगंगा, सुरही, कोइली, कोन्द्रा लगायतका नदीहरु बढ्ने गर्दथे । यी नदीहरुमा टनाटन पानी देखिन्थ्यो । तर, यस बर्ष भने नदीहरुमा काँस ढकमक्क फूलेको देख्न सकिन्छ । छिमेकी जिल्ला अर्घाखाँचीमा पानी पर्दा प्राय गरी यी नदीहरु बढ्छन् । कपिलवस्तुमा पर्ने पानीले यी नदीलाई खासै प्रभाव नपारे पनि अर्घाखाँचीमा भने प्रयाप्त पानी आउनु पथ्र्यो । यी नदीका मुख्य स्रोत हिमाल नभएर चुरे हुन् । चुरे क्षेत्र नै नदीका मुख्य मुहान हुन् । घना जंगल भएकोले चुरेमा विगतका बर्षहरुमा ठूलै पानी पर्ने गर्दथ्यो ।
पहाडबाट तराई बसाईसराई गर्नेको दर बढीरहेको छ । विशेष गरी पहाडका चुरे क्षेत्रहरु रित्तिदै जान थालेका छन् । घना जंगल, बन्यजन्तुको आतङ्क, ठूलै चट्यान सहितका पहाडले गर्दा अर्घाखाँचीको चुरे क्षेत्र सोचेजस्तो विकसित हुन सकेको छैन् । तराईमा जति बसाईसराई गरेका छन् तीन तिहाई जनसंख्या चुरे क्षेत्रकै रहेको तथ्याङ्कले देखाँउछ ।


चुरे अविकसित हुँदा मानव बस्ति पातलिदै जानु र पानीको मुख्य स्रोत मानिने बनजंगल विगतको भन्दा अहिले बढ्दै जानुले बनजंगल नासिनुको असर पानी कम परेको हो नै भन्न सकिने अवस्था छैन् । तरपनि हरेक बर्ष पानी कम परिरहेको छ ।
चुरेमा पानी कम पर्दा तराईका भूभाग मरुभूमि जस्ता बन्न थालेका छन् । सिंचाई सुविधा प्रयाप्त नहुँदा तराईका खेतहरु यस बर्ष बाँझै भए । सिंचाई सुविधा मिलेको ठाउँमा पनी प्रयाप्त पानी नपर्दा समस्या भयो । चुरेमा पानी प्रयाप्त नपर्दा तराईमा विस्तारै खानेपानीको हाहाकार पनि मच्चिदै जान थालेको छ । ओदारी, पथ्थरकोट, चन्द्रौटा, इमिलिया लगायतका स्थानमा चापकलबाट खानेपानी पाउन लगभग मुस्किल नै पर्न थालेको छ ।
यस बर्ष प्रयाप्त पानी नपर्दा वाणगंगा नदी काँस फूलेर भरिएको छ । सलल बग्ने वाणगंगा नदी घासैघाँसको मैदानमा रुपान्तरण भएको हो । कपिलवस्तु बोडगाउँ बालापुरका ७३ बर्षीय पुराराम गिरीले नदीमा बाढी नआउँदा काँस फूलेको बताउनुहुन्छ । विगतका बर्षमा यस्तो नहुँदै भन्दै विगत दुई बर्ष यता वाणगंगा नदीमा बाढी नआएको उहाँको अनूभव छ । बालापुरमा २९ सालबाट बस्न थाल्नुभएका गिरीले वाणगंगा नदीमा बाढी कस्तो आउँन्थ्यो भन्ने पूर्ण अनूभव सम्हाल्नुभएको छ । ‘वाणगंगा नदीको पानी चैत, बैशाखमा सुक्ने गथ्र्यो तर आजभोली असोजमै सुक्न थालेको छ उहाँले भन्नुभयो, यस्तै हुने हो भने मरुभूमि बन्न बेर छैन् ।”

बनगाईकी ७५ बर्षीय विना विष्टको भनाई पनि उस्तै छ । विगत दुई बर्ष देखि निकै कम पानी परेको उहाँ सुनाउनुहुन्छ । कोइली नदी, वाणगंगा नदीमा केही बर्ष यता पानी देख्न छाडिएको उहाँले बताउनुभयो । “नेपालको दोस्रो लामो पूल वाणगंगा नदीमा राखिएको किन हो उहाँले प्रश्न गर्दै भन्नुभयो, बाढीले यति ठूलो नदी बनाएको थियो तर, अहिले एकादेशको कथा बन्न पुगेको छ ।”

प्रकाशित मिति : ७ आश्विन २०७६ मंगलबार ००:००  ३ : २३ बजे