नवलपुर ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोतीमा ५ जनाको ज्यान जाने गरी भएको दुर्घटना तीव्र गतिका कारण भएको पाइएको छ । बुटवल नारायणगढ सडकमा पर्ने कावासोतीको खरकट्टा जंगलमा सोमबार राति ट्रकसँग ठक्कर खाँदा कारमा सवार सबैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार हावाहुरीसहित पानी परेको समयमा कार तीव्र गतिमा थियो । कारले ओभरटेक गर्ने क्रममा ट्रकसँग ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए ।
बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रकसँग विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कार ठोकिएको हो । दुर्घटनामा परेको कार पूर्णरुपमा कुचिएकाले भित्र च्यापिएका शव निकाल्न करिब २ घण्टा समय लागेको प्रहरी निरीक्षक अधिकारीले बताए ।दुर्घटनामा पर्ने सबै पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका हुन् । उनीहरुको उमेर २० देखि ३५ वर्षका छन् । मृत्यु हुनेमा देवचुली नगरपालिका १ का दीपक भनिने पूर्णबहादुर विक, सोही ठाउँ घरभई धनगढी बस्दै आएका सुरज राना मगर, ५ का डिलबहादुर ढेंगा मगर, १० का दीपेश राना र सोही ठाउँका हिरा राना छन् । दुर्घटनापछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पूर्वी नवलपरासी मध्यविन्दुनगरपालिकाको अरुणखोला जंगलमा सोमबार राति भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ८६४२ नम्बरको बस सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा बसका चालक मकवानपुर हेटौडाका ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा १६ जना घाइते भएका छन् । त्यस्तै सुर्खेतबाट काडमाण्डौं तर्फजाँदै गरेको ना ४ ख ९५१० को यात्रुबहाक बस मंगलबार बिहान चोरमारा अरुणखोला सडकको ४० किलो भन्ने स्थानमा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
घाइते भएकामध्ये अधिकांश उपचारपछि घर फर्केको र केहीको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
७ आश्विन २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया