काठमाडौं ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान बिजुक्छे (रोहित)थप कार्यकालका लागि पुनः अध्यक्ष बनेका छन् । नेमकिपाको सोमबार सम्पन्न सातौं महाधिवेशनले पार्टी नेतृत्वमा पुनः बिजुक्छेलाई नै निरन्तरता दिएको हो । ४४ वर्षदेखि बिजुक्छे पार्टीको अध्यक्ष नै रहदै आएका छन् ।
फरक राजनीतिक छवि बनाउँदै आएको नेमकिपा सन् १९७५ मा रोहित समूह, सर्वहारा क्रान्तिकारी संगठन, नेपाल र किसान समितिको एकीकरणबाट जन्मिएको थियो । पार्टी एकीकरणदेखि अहिलेसम्म पार्टीमा रोहितको एकछत्र राज रहँदै आएको छ ।
सातौं महाधिवेशनपूर्व बिजुक्छेले अध्यक्षमा अरू नै अनुहार अघि सार्ने चर्चा थियो । तर, ४४ वर्षदेखि पार्टी नेतृत्व सम्हाल्दै आएका बिजुक्छे पुनः अर्को कार्यकालका लागि अध्यक्षमा चुनिएका छन् ।
सोमबार सम्पन्न महाधिवेशनले अध्यक्षसँगै ६ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ । नयाँ कार्यसमितिमा प्रेम सुवाल, सुनील प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही रहेको नेमकिपाले जनाएको छ ।
त्यस्तै, सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर सदस्यको सूचीमा परेका छन् ।
नेमकिपाका अनुसार, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सिर्जना सायजु, सरोजकुमार साह केन्द्रीय सदस्यमा निर्वा्चित भएका छन् । कृष्णबहादुर तामाङ र मुक्ति यादवलाई वैकल्पिक केन्द्रीय सदस्य बनाइएको छ ।
नयाँ कार्यकालका लागि चयन भएका अध्यक्ष, सदस्यलगायत सबैले सोमबार नै शपथग्रहण गरेका छन् । सम्पन्न महाधिवेशनले समसामयिक राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रस्तावहरू समेत पारित गरेको छ ।
नेमकिपा स्रोतका अनुसार महाधिवेशनले जनताको प्रजातन्त्रलाई तत्कालीन कार्यक्रमका रूपमा पारित गरेको छ ।
बिजुक्छेले प्रस्तुत गरेको प्रस्ताव पास गर्दै नेमकिपाले जनताको प्रजातन्त्रलाई तत्कालीन कार्यक्रमका रूपमा अघि सारेको छ ।
७ आश्विन २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया