प्यूठान ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान केपि शर्मा ओली नेतृत्वको सरकारले जनतालाई झुक्याएर जेल हाल्ने र देश लुट्ने खेलमा लागेको आरोप लगाएका छन् । उनले नेपालमा दुई तिहाई बहुमत ल्याएको कम्युनिष्ट पार्टीले सर्वसत्तावादी सोचबाट देश लुट्ने खेलमा लागेकाले कांग्रेस खबरदारीमा लागेको बताए ।
सरकारले संविधानको दुरुपयोग गरी देशका संबैधानिक आयोग, प्रेस र लोकतन्त्रको मर्म बिपरित काम गरेको आरोप नेता पौडेलको छ । अदालत र अख्तियार पनि दुई तिहाई सरकारको प्रभाव र छाँयामा परेको बताउदै उनले भने” ‘दुई तिहाईको दम्भ देखाएर अख्तियार र अदालतलाई तर्साएर देशमा लुट मच्चाउने काम भएको छ,’ उनले प्रश्न गरे, ‘यत्रो भ्रष्टाचार भइ रहँदा अख्तियार के हेरेर बसिरहेको छ ? अदालत के हेरेर बसिरहेको छ ?’ ।
बिभिन्न आयोजनाहरुमा कमिसनको बार्गनिङ गर्ने र कामिसन नपाए काम गर्न नदिने खेल सरकारले खेल्दै आएको छ ।”सरकार संवैधानिक तवरबाटै सत्ता कब्जाको बाटोमा अघि बढिरहेको दाबी पनि उनले गरे । प्युठानको बिजुवारमा आयोजित पार्टीको राष्ट्रिय जागरण अभियान दोस्रो चरणको कार्यक्रम समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले भने एनसेल करकाण्डमा अदालतलाई प्रभावमा पारेर आफ्नो चुनावी खर्च मिनाहा गर्ने काम पनि नेकपाको दुईतिहाइ सरकारले गर्यो, यो राष्ट्रघाति काम हो ।”
कम्युनिष्ट अधिनायकवाद लागु गर्दै देशका सबै संवैधानिक निकाय कब्जा गरेर सरकार तानासाही बनेको उनको आरोप छ । उनले सरकारलाई नेपाली सेना र प्रहरीमा समेत आफ्ना कार्यकर्ता भर्ती गरी सुराकीको काममा लगाउन खोजेको आरोप समेत लगाए । सरकारले देशमा औद्योगिक क्षेत्रमा लगानीको वातावरण बनाउन नसकेको, बैदेशिक कुटनितिक मामलामा द्वयत चरित्र देखाएको नेता पौडेलको भनाई छ ।
उनले सरकारलाई कमाउ धन्दामा नलागि मुलुकमा लोकतान्त्रिक संविधानको मर्मलाई नभुल्न, जनतालाई ढाँटेर काम नगर्न सुझाव दिए । उनले बर्तमान सरकार प्रतिको वितृष्णा बुझेर आफ्नो पाटीलाई पनि सुदृढीकरण गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
७ आश्विन २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया