९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वाणगंगाको बुद्ध रंगशाला कता, वडा नं. ४ कि १ ?



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका चार नम्बरस्थित बुद्ध रंगशालालाई जिल्लाको प्रतिष्ठाको रुपमा हेर्ने गरिन्छ । पूर्वपश्चिम महेन्द्र राजमार्गसंग ठ्याक्कै सटेको यो रंगशालामा विगत लामो समयदेखि जिल्लास्तरका बिभिन्न खेलकुदका गतिविधि भइरहेका छन् भने कपिलवस्तुकै ठुलो प्रदर्शनी तथा महोत्सव पनि यसै रंगशालामा हुँदै आएको छ । २०७५ सालमा यस रंगशालामा आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला राष्ट्रिय फुटवल प्रतियोगिता आयोजना गरिएपछि यस रंगशालाको उचाई राष्ट्रियस्तरमा ह्वात्तै बढेको छ ।
यो रंगशालालाई स्थानीय, प्रदेश र केन्द्र सरकारले पनि निकै महत्वका साथ हेरेको पाइन्छ । स्थानीय सरकारका साथसाथै प्रदेश र केन्द्रका मन्त्री, जनप्रतिनिधिले पनि बुद्ध रंगशालालाई गौरवको योजनाको रुपमा लिएका कारण पनि यसको दीर्घकालिन महत्व छ ।
त्यति मात्र होइन बाणगंगा नगरपालिकाको कार्यालयीय भवन पनि त्यही क्षेत्रमा खडा गरिएको छ । अबको एक दुई महिनामा नगरपालिकाले नगरका बिभिन्न क्रियाकलाप पनि रंगशालाको पश्चिम छेउमा बनेकोे भवनबाट संचालन गर्दै छ । अर्को तर्फ उद्योग बाणिज्य संघ कपिलवस्तुको भवन पनि त्यहीँ बनेको छ । कपिलवस्तुका स्थानीय तहमध्ये बाणगंगा आफैमा सबैभन्दा विकसित नगरपालिका हो भने चार नम्बर जितपुर बाणगंगाको ठुलो परिचय र प्रतिष्ठा बोकेको बजार हो । यीनै बिभिन्न कारणले अहिले बुद्धरंगशाला चौतर्फी चर्चामा छ । यो सकारात्मक चर्चा संगै बुद्ध रंगशाला बेलाबेलामा सिमा विवादका कारण पनि चर्चामा आउने गरेको छ ।
बुद्ध रंगशाला कता पर्दछ ठ्याक्कै भन्न सकिने अवस्था छैन् । बुद्ध रंगशालामा बिभिन्न कार्यक्रम गर्दा कतिपयले सिमाविवादकै कारण ब्यानरमा स्पष्टसंग ठेगाना उल्लेख गरेको पाइदैन । ब्यानरमा बुद्ध रंगशाला जितपुर त लेखिन्छ तर वडा नम्बर खुलाइएको हुँदैन । त्यसैले बुद्ध रंगशाला कति नम्बर वडामा पर्दछ अहिले नागरिकमा जिज्ञासाको विषय पनि बनेको छ । यसले गर्दा विशेष गरी वडा नम्बर १ र ४ का नागरिक अन्यौलमा परेका छन् ।
यससम्बन्धि मायादेवी अनलाइनले खोज गर्दै गर्दा बुद्ध रंगशालालाई वडा नम्बर १ र ४ ले प्रतिष्ठाको विषयका रुपमा लिएको देखिन्छ । बाहिर ठ्याक्कै भन्न नसके पनि वडा नम्बर १ की वडाध्यक्ष बाल कुमारी पन्त र ४ का वडाध्यक्ष गणेश क्षेत्रीले रंगशालालाई आ–आफ्नो वडामा पार्न चाहेको बुझिएको छ । यसै बिषयलाई लिएर वडा नम्बर १ का वडा सदस्यहरुले पाँचौ नगरसभामा यो विषयलाई जोडदारले कुरा उठाएका थिए । वडा सदस्यले कुरा उठाए पनि यस विषयमा नगर प्रमुख मंगल प्रसाद थारु र नगर उप–प्रमुख चक्रपाणी अर्याल सुनेको नसुने झैँ गरेर त्यो विषयलाई त्यत्तिकै टारे । यो विषयमा मायादेवी प्रतिनिधिले प्रश्न राख्दा पनि सिमा विवाद गम्भिर भएकाले पछि छलफल गर्ने भन्दै वैठकबाट नगरप्रमुख उप–प्रमुख र वडाध्यक्ष तर्किए ।
त्यसपछि पनि १ र ४ को सिमा विवादको विषयमा बिभिन्न स्थानमा कुरा उठिरहेको छ । यसमा स्वयम वडाध्यक्षहरु पनि आ–आफ्नो दाबी गर्दछन् । पुरानो नक्सा अनुसार बुद्ध रंगशाला आफ्नो वडामा पर्ने वडा नम्बर १ की वडाध्यक्ष बाल कुमारी पन्तको भनाइ छ । उहाँले भन्नुभयो– “यस विषयमा मैले यो र त्यो भन्न मिल्दैन् । मेरो यत्ति भनाई छ कि, पुराना साँध र प्रमाणको आधारमा बुद्ध रंगशालाको जग्गा अहिलेको वडा नम्बर १ मा पर्दछ ।” शिव मन्दिर सामुदायिक वन वडा नम्बर १ मा पर्दछ । बुद्ध रंगशाला पनि त्यही वनमा पर्दछ । उहाँले अगाडी थप्नुभयो–“वडा नम्बर ४ संग मेरो केही लिनु दिनु छैन । हिजो चुनावमा जाँदा पनि मैले त्यस क्षेत्रको जनताको मत लिएकी छु । यसमा विवाद गर्न आवश्यक छैन । यदि विवाद झिक्ने नै हो भने पुराना प्रमाण जुटाउनु पर्दछ ।”
यता वडा नम्बर ४ का वडाध्यक्ष गणेश क्षेत्री पनि बुद्ध रंगशाला ४ मै पर्ने दाबी गर्नुभएको छ । रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम ‘जनप्रतिनिधि’संग आइतबार विहान कुरा गर्दै उहाँले नगरपालिकाले आफूहरुलाई उपलब्ध गराएको नक्सा अनुसार रंगशाला वडा नम्बर ४ मै पर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो–“यो विवाद नयाँ होइन् । आजभन्दा १० । १२ बर्ष पहिलाबाट नै यसमा विवाद थियो । साविक गजेहडा र बाणगंगा गााविस पनि यसको लडाइँमा थिए । नदीजन्य पदार्थ उपभोगमा यस क्षेत्रलाई आआफ्नो दाबी गरिएको थियो । वडाध्यक्ष क्षेत्रीले भन्नुभयो–“अब यसको समाधान पुर्ननापीबाट नै हुने भन्दै सार्वजनिक रुपमा भाषण गर्दै हिँडेर विवाद मात्र बलझन्छ समस्या समाधान हुँदैन ।”
दुवै वडाध्यक्षले बुद्ध रंगशालालाई प्रतिष्ठाको रुपमा लिएर विवाद सुरु गरेका छन् भन्ने नागरिकको प्रश्नमाथि के जवाफ दिनुहुन्छ भन्ने क्रममा वडाध्यक्ष क्षेत्रीले थप्नुभयो–“यो अनावश्यक कुरा हो । अहिले यहाँ कुनै देशले खोसेर लैजान लागेजस्तो बाहिरे हाउँउँगुजी सिर्जना भएको छ । हिजाकोे नापीमा रहेको क्रुटीको कारण अहिले हामी विवादमा मुछिन परेको छ । दुख पाउनु परेको छ ।” अब नगरपालिकामा पुर्ननापी हुनुपर्दछ । त्यसले समाधान गर्दछ ।” उहाँले विवादको रुपमा यस विषयलाई लिन नहुने भन्दै भन्नुभयो–“भोली आवश्यक परेमा १ को जग्गा चारमा पनि जान सक्छ । चारको १ मा आउन सक्छ । अनावश्यक विवाद बढाएर अर्थ छैन ।”
वडाध्यक्ष क्षेत्रीले कसैलाई कसैको जग्गा कसैले खोसेर लैजान लागेजस्तो लाग्दछ भने नगरसभामा कुरा उठाउन सक्ने छुट रहेको बताउँदै आफू नगरपालिकाको निर्णय मान्न तयार रहेको बताउनुभयो । उहाँले यो विवाद १ संग मात्र नभएर वडा नम्बर ८ र ५ संग पनि रहेको बताउनुभयो ।
उहाँले सिमाविवाद रंगशालाको मात्र नभएर सिंगो नगरको समस्या भएको बताउनु भयो । उहाँले भन्नुभयो–“यस्तोसम्म समस्या आएको छ कि वडामा एउटै अमिनले चार–पाँच पटक नाप्दा पनि धेरै जग्गाधनीको जग्गाको सिमा एकिन गर्न सकिएको छैन ।”
जितपुरका पुराना बासिन्दा तथा समाजसेवी सागर श्रेष्ठले अहिलेका जनप्रतिनिधिलाई पुरानो नापी र नक्साबारे थाहा नहुँदा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो– “अहिले उद्योग बाणिज्य संघले बनाएको नयाँ भवननेर उत्तर दक्षिण भएर बग्ने सानो पानी बग्ने कलिया(सानो कुलो) थियो । त्यो अहिले छैन । त्यसलाई आधार मान्दा उद्योग संघ र सिद्धार्थ सामाजिक संस्थाको भवन ४ मा पर्दछ । रंगशालामा किचलो आइरहेको छ । मेरो विचारमा त्यो १ मा पर्नुपर्दछ । ”
यता बाणगंगा नगरपालिकाले भने यस विषयमा कुटनैतिक जवाफ दिएको छ । यसै विषयमा हामीले नगरपालिकाको आधिकारिक धारण माग्दा नगर उपमेयर चक्र अर्यालले राज्यले आफूहरुलाई दिएको २६ सालको नक्सामा आफूहरुले स्वेच्छिक फेरबदल गर्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो– “बुद्ध रंगशाला र जितपुरको सवाल मात्र होइन सिंगो नगरमा यो समस्या ब्याप्त छ । तर धेरै जग्गा विवादमा रहेका कारण अब डिजिटल नक्सांकन नभई ठ्याक्कै यो यो भन्न मिल्दैन । यसै बर्षबाट प्रकृया अनुसार पुनः नापी सुरु गरिन्छ ।” उहाँले अहिलेको परिस्थितिमा पुरानो नक्सालाई सदर गर्दा रंगशाला वडा नम्बर १ मा पर्ने बताउनु भयो । यस क्षेत्रका अन्य सरोकारवाला र जानकारले बुद्ध रंगशालालाई स्वार्थसंग जोडेर विवाद झिकेको बताउँछन् ।

प्रकाशित मिति : ५ आश्विन २०७६ आइतबार ००:००  ४ : २० बजे